चितवन । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगमा बिहिबारबाट दोस्रो चरणको खेलहरु सुरु भएको छ ।
लिग अन्तर्गत बिहिबार तीन खेल सम्पन्न भएको छ । शारदानगरमा भएको समूह ए को खेलमा स्टेप बाई स्टेपले ढड्डाघारी माविविरुद्ध सहज जित हात पारेको छ । स्टेप बाई स्टेप २-० ले विजयी भएको हो ।
उसको जितमा कप्तान सुमित गुरुङ र रमित गुरुङले गोल गरे । सुमितले खेलको ५२ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । ५२ औं मिनेटमा रमितले गोल गरेपछि स्टेप बाई स्टेप २-० ले विजयी भयो । स्टेप बाई स्टेपका सुमित म्यान अफ दि म्याच भए ।
यो जितपछि स्टेप बाई स्टेप समूह ए को शिर्ष स्थानमा उक्लिएको छ । उसको दुई खेलबाट चार अंक भएको छ । एक खेल खेलेको गौरीगन्ज मावि भने ३ अंकका साथ दोस्रो स्थानमा झरेको छ । आज पराजित भएको ढड्डाघारी दुई खेलबाट अंकबिहिन हुँदै पुछारमा छ ।
उता कृष्णपुरको मैदानमा भएको समूह बी को खेलमा आदिकवि भानु मावि विजयी भएको छ । उसले ग्रीनल्याण्ड पब्लिक स्कुललाई २-१ ले हराएको हो ।
खेलमा अग्रता भने ग्रीनल्याण्डले लिएको थियो । २७ औं मिनेटमा प्रज्वल लम्सालले गोल गर्दै ग्रीनल्याण्डलाई अग्रता दिलाएका थिए । तर उसको अग्रता धेरै समय टिक्न सकेन । पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा मनिष मगरले गोल गर्दै भानुलाई खेलमा फर्काए ।
४४ औं मिनेटमा बिजेश परियारले गोल गरेपछि भानु विजयी भयो । भानुका लक्ष्मण गुरुङ म्यान अफ दि म्याच भए । यो जितपछि समूह बी मा दुई खेलमा शतप्रतिशत जित निकालेको भानु ६ अंकका साथ तालिकाको शिर्ष स्थानमा यथावत छ । समान खेल खेलेको ग्रीनल्याण्ड ३ अंकका साथ तालिकाको दोस्रो स्थानमा यथावत छ ।
यस्तै पटिहानीमा भएको समूह सी को खेलमा ईडन गार्डेन ईंग्लिस बोर्डिङ र लक्ष्मी मावि बराबरीमा रोकिएका हुन् । प्रतिस्पर्धात्मक खेलमा दुबै टिमले १-१ को बराबरी खेलेका हुन् । ईडन गार्डेनका विवस गुरुङ र लक्ष्मी माविका अमिस गुरुङले गोल गरे ।
खेलको दोस्रो मिनेटमा नै अमिसको गोलमा लक्ष्मी माविले अग्रता लिएको थियो । तर दोस्रो हाफमा मैदान छिरेका विवसले ईडन गार्डेनका लागि बराबरी गोल फर्काए । उनले ५७ औं मिनेटमा गोल गरे । उनी नै म्यान अफ दि म्याच भए ।
यो बराबरीपछि दुबै टोलीले एक-एक अंक बाँडेका छन् । यससँगै समूह सी को लक्ष्मी मावि दुई खेलमा चार अंकसहित तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको विश्वप्रकाश मावि तीन अंकका साथ दोस्रो स्थानमा छ । लिगमा पहिलो अंक हासिल गरेको ईडन गार्डेन तेस्रो स्थानमा उक्लिएको छ ।
लिगमा आज शुक्रबार तीन खेल हुनेछ । शारदानगरमा समूह ए का ओमशान्ति एकेडेमी र गौरीगन्ज मावि तथा कृष्णपुरमा समूह बी का पारिजात ईंग्लिस बोर्डिङ र सिद्धार्थ मावि भिड्नेछन् । यस्तै पटिहानीमा समूह सी का जनप्रिय ईंग्लिस बोर्डिङ र विश्वप्रकाश मावि भिड्नेछन् ।