चितवन । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगमा आज तीन खेल सम्पन्न भएको छ ।
कृष्णपुरको मैदानमा भएको समूह डी को खेलमा जनज्योति माविले सनराईज ईंग्लिश बोर्डिङ स्कुललाई २-१ ले हरायो । जनज्योतिका विशाल गुरुङ म्यान अफ दि म्याच भए ।
यस्तै पटिहानीमा भएको समूह ई को खेलमा वाल्मिकी शिक्षा सदन र दुर्गा शेषकान्त माविले १-१ को बराबरी खेलेका छ । वाल्मिकीका सुदर्शन पन्तले दोस्रो हाफको १९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
तर दोस्रो हाफको अतिरिक्त समयमा सजन कार्कीले बराबरी गोल फर्काए । सजन म्यान अफ दि म्याच भए । बराबरीपछि दुबै टिमले एक-एक अंंक बाँँडेका छन् ।
उता शारदानगरमा भएको समूह एफ को खेलमा किरण अमरजङ्ग मावि विजयी भयो । किरण अमरजङ्गले अंकुरम एकेडमीविरुद्ध ४-० को सहज जित निकाल्यो । उसको जितमा समीर परियारले ह्याट्रिक गरे। यस्तै अभिषेक गुरुङले एक गोल थपे ।
समीरले खेलको १३, ४९ र ५२ औं मिनेटमा गोल गरे । अभिषेकले ६९ औं मिनेटमा गोल गरे । किरण अमरजङ्गका समीर म्यान अफ दि म्याच भए ।
लिगमा बुधबार पहिलो चरणका अन्तिम तीन खेल हुनेछ । कृष्णपुरमा समूह डी का होलिभिजन ईङ्लिश स्कुल र नारायणी नमूना उच्च मावि तथा पटिहानीमा समूह ई का ब्राइटस्टार ईङ्लिश स्कुल र अमर मावि भिड्नेछन् । यस्तै शारदानगरमा समूह एफ का ग्रामोदय ईङ्लिश बोर्डिङ र हिमालय दण्डपाणि न्यौपाने मावि भिड्नेछन् ।