चितवन । चितवनको रत्ननगरमा सोमबार जिल्लाको आर्थिक तथा सामाजिक विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । चितवन उद्योग बाणिज्य संघ र रत्ननगर उद्योग बाणिज्य संघ बीच जिल्लाको आर्थिक तथा सामाजिक विकास र व्यवसायिक सुरक्षाका विषयमा छलफल भएको रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरीले जानकारी दिए ।
नीजिक्षेत्रले जिल्लाको आर्थिक तथा सामाजिक विकासमा खेल्नुपर्ने भूमिका र आर्थिक मन्दीका कारण संकटमा परेको व्यवसायलाई जोगाउन गर्नुपर्ने कामका बारेमा व्यवसायीहरु बीच छलफल भएको उनले जानकारी दिए । कार्यक्रममा आर्थिक मन्दीका कारण समस्यामा परेका व्यवसायीलाई जोगाउन बैंकको व्याजदर कम, व्यवसायिक कर, अन्डर बिलिङ लगायत करका जटिलता, समग्र चितवनको पर्यटन विकास, होडिङ बोर्डको नाममा व्यवसायीलाई थप करको भार, पूूर्वी चितवनका सवारी साधन चैबिसकोठीमै रोकिएको लगायतका बिषयमा अन्तरक्रिया गरिएको रत्ननगर उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष निराजन खनालले जानकारी दिए ।
कार्यक्रममा चितवन उद्योग बाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले चितवनलाई केन्द्रमा राखेर पश्चिममा दाउन्ने सम्म र पूर्वमा हेटौडा सम्मको क्षेत्रलाई आर्थिक हवको रुपमा विकास गर्न छलफल सुरु गरिएको बताए । व्यवसायिक सुरक्षासंगै नीजिक्षेत्रले आर्थिक तथा सामाजिक विकासको लागि काम गर्नुपर्ने दायित्व रहेको भन्दै उनले सरकारसंग मिलेर त्यसका लागि पहल सुरु गर्ने बताए ।
कार्यक्रममा चितवन उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष चुननारायण श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष चिरन्जिवी सुवेदी, रत्ननगर उद्योग बाणिज्य संघका उपाध्यक्षहरु हरि अधिकारी, शिबराज मैनाली, कार्यसमिति सदस्य रघुनाथ भट्ट लगायतले व्यवसायिक सुरक्षा र आर्थिक विकासका बारे घारणा राखेका थिए । संघका अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रम महासचिव उपेन्द्रशर्मा आचार्यले सञ्चालन गरेका थिए ।