काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन र नेकपा (एकीकृत समाजवादी) मा आबद्ध हुन पाउनुपर्नेसम्बन्धी दुइटा रिट पेसीमा चढाएको छ ।
नेपाली कांग्रेसको मंसिरमा तोकिएको महाधिवेशन रोक्ने प्रदेश सांसद नरोत्तम वैद्यले दायर गरेको रिट र एकीकृत समाजवादीमा आबद्ध हुन पाउनुपर्ने प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेय र राष्ट्रियसभा सदस्य शारदा भट्टको रिट न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेसीमा चढेको हो ।
बागमती प्रदेशसभा सांसद वैद्यले वडा अधिवेशन सुरु हुनु एक दिनअघि १७ भदौमा दायर गरेको रिटमा आज पालो आउने सम्भावना छ । वैद्यले माओवादी र एमालेको पनि महाधिवेशन नभएको, कोभिड महामारी कायमै रहेको, कानुनी रूपमा अझै एक वर्ष कांग्रेसको वैद्यता रहेको जिकिर गर्दै मंसिरमा तोकिएको महाधिवेशन उपयुक्त नभएकाले स्थगित गर्न अन्तरिम आदेश माग गरेका छन् ।
त्यसैगरी, पाल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद पाण्डे र कैलालीबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भट्टको आज पालो आउने सम्भावना न्यून छ । सिन्हाको इजलासको पेसीमा यो मुद्दा पुछारमा छ । पाण्डे एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका सम्धी हुन् ।
पाण्डे र भट्टले एकीकृत समाजवादी पार्टीमा सनाखतको माग गर्दै रिट दायर गरेका हुन् । उनीहरूले एमाले छाडेर आफूहरू एकीकृत समाजवादीमा गएकाले निर्वाचन आयोग, संसदीय संसद्, सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई विपक्षी बनाएका छन् ।
दुवैले आफूहरूले एमाले परित्याग गरेर नेकपा (एस) रोजे पनि आयोगले सनाखत नगराएको रिटमा उल्लेख गरेका छन् । सांसद पाण्डे र भट्टले एमालेको अभिलेखबाट आफूहरूलाई हटाउन र एकीकृत समाजवादीको अभिलेखमा राख्न अन्तरिम आदेश माग गरेका छन् ।