चितवन। चितवनका रोजगारदातालाई डाटाबेस सम्बन्धी अभिमुखीकरण दिइएको छ ।
उद्योगी व्यवसायीलाई सिपयुक्त कर्मचारी छनोट गर्न सहज बनाउने उद्देश्यले निजी क्षेत्रका रोजगारदातालाई रोजगारदाता डाटाबेससम्बन्धी अभिमुखीकरण गरिएको आयोजक उद्योग वाणिज्य संघ चितवनले जनाएको छ । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र उद्योग वाणिज्य संघ–चितवनको संयुक्त आयोजनामा डाटाबेस अभिमुखीकरण भएको हो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले उद्योगी व्यवसायीले दक्ष कर्मचारी पाउन गाह्रो भएको अवस्थामा यस प्लेटफर्म मार्फत् सक्षम व्यक्ति सहज तरिकाबाट पाउने अपेक्षा गरिएको बताए । उनले उद्योग वाणिज्य संघ–चितवनसँग सहकार्य गरेर उद्योगी व्यवसायीलाई रोजगारदाता डाटाबेस सम्बन्धी सिकाउने कार्य गरेकोमा बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयलाई धन्यवाद दिए ।
कार्यक्रममा बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख गोपालप्रसाद कँडेलले उद्योगी व्यवसायी र कामदारबीचको दूरी घटाउन यो डाटावेश निर्माण गरेको जानकारी दिए । उनले आगामी दिनमा पनि सामाजिक विकास मन्त्रालय र उद्योग वाणिज्य संघ–चितवनलगायत चिनवनका उद्योगी व्यवसायीसँग सधै सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा एनभीक्यूएस परियोजनाका प्राविधिक अधिकृत सुरेन्द्रकुमार रायले डाटाबेसका फाइदा, डाटाबेसमा सूचिकरण हुने तरीका र डाटाबेसको बारेमा अभिमुखीकरण गरेका छन् । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले धन्यवाद ज्ञापन गर्दै उपस्थित सबैलाई डाटावेसमा सुचिकरण हुन अनुरोध गरे । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष नारायण प्रधान, कार्यसमिति लगायत विभिन्न व्यवसायिक प्रतिष्ठानका प्रतिनिधिको उपस्थिति रहको थियो ।