चितवन। एक बर्षको अबधि सन् २०२३ मा चितवनमा ९५ जना नयाँ एचआईभी एड्स सङ्क्रमित थपिएका छन् । ५ सय ७९ जनामा गरिएको परिक्षणका क्रममा सो संख्यामा सङ्क्रमित भेटिएका हुन । पुष्टि भएका मध्ये ५० जना चितवनका रहेका छन् ४५ जना जिल्ला बाहिरका हुन् ।
अस्पताल, समुदाय र उनीहरुका जोडीको परिक्षणका क्रममा यो संख्यामा सङ्क्रमित देखिएका हुन् । नयाँ सङ्क्रमित मध्ये ५२ जना पुरुष, ३७ जना महिला, ४ जना तेस्रो लिङ्गी र २ जना बच्चा रहेका छन् । जिल्लामा अहिले १ हजार १६२ जनाले नियमित औषधि सेवन गर्ने गरेको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो । उनीहरुले एड्स हेल्थ पाउण्डेसनको सहयोगमा भरतपुर अस्पतालद्धारा सञ्चालित एआरटी सेन्टरबाट औषधि सेवन गर्ने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार यस वर्ष जिल्लाबाट ५१ जना सङ्क्रमितले स्थानान्तरण गरेका छन् भने ५५ जनाले औषधि सेवन गर्न छाडेका छन् ।
औषधि सेवन गर्न छाडेका मध्य अधिकांश मदिरा सेवन गर्नेहरु रहेका छन् । मादक पदार्थ सेवन गर्ने र औषधि सेवन नगर्नेहरु धेरै जसोले औषधि छोडेको उहाँले बताउनुभयो । औषधि छोडेका मध्ये १९ जनाले पुनः औषधि सुरु गरेका छन् । यस वर्ष १७६ जना नयाँ बिरामीले औषधि सुरु गरेका हुन । एच आईभि एड्स सङ्क्रमित मध्य सन् २०२३ मा २२ जनाको मृत्यु भएको छ । जस मध्ये १५ जना पुरुष र ७ जना महिला रहेका छन् । मृत्यु हुनेमा मादक पदार्थ सेवन गर्ने, कलेजोको रोग भएका , क्यान्सर, क्षयरोग भएकाहरु रहेको कार्यालयले जनाएको छ ।
फाउण्डेसनका कार्यक्रम संयोजक कृष्णहरी सापकोटाका अनुसार एड् सङ्क्रमित मध्ये १७ जनामा क्षयरोग, ३७ जनामा यौन रोग र एक जनामा पाठेघरको मुखको क्यान्सर देखिएको छ । उनीहरुको उपचार भईरहेको उहाँले बताउनुभयो । भरतपुर अस्पतालमा रहेको एआरटी सेन्टरमा दर्ता भएका २ हजार ३३४ जना सङ्क्रमित रहेका छन् ।