चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा कार्यपालिका बैठक र हिउँदे नगर सभाको माग गर्दै उपप्रमुख देवेन्द्र लामालाई ज्ञापनपत्र बुझाइएको छ । कार्यपालिका बैठक र नगर सभा समेत नहुँदा नगरको विकासमा बाँध परेको भन्दै बहुमत कार्यपालिका तथा नगर सभा सदस्यहरुले संयुक्त रुपमा हस्ताक्षर गरी कार्यपालिका बैठक नियमित गर्न र हिउँदे नगर सभा तत्काल गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
मेयर शमशेर लामालाई ज्ञापनपत्र बुझाउन नगरपालिका पुगेका नेपाली काँग्रेस र एमालेबाट निर्वाचित कार्यपालिका सदस्य तथा नगर सभा सदस्यहरुले कार्यकक्षमा मेयर नभेटेपछि उपमेयर देवेन्द्र लामा र प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएका थिए । स्थानीय सरकार संचालन ऐन २०७४ ले एक महिनामा कम्तीमा एक पटक कार्यपालिका बैठक बस्नु पर्ने व्यवस्था गरेको छ । तर सो नगरपालिकामा विगत लामो समय देखि बैठक बस्न सकेको छैन् ।
एक एक महिनामा बस्नुपर्ने कार्यपालिका बैठक ६ महिनामा एक पटक मात्र सकेको वडा नं ४ का वडाध्यक्ष केदार आचार्यले बताए । राप्ती नगरपालिकाको नियमित बैठक स्थानीय सरकार सञ्चालन ऐन २०७४ र राप्ती नगरपालिकाको कार्यविधि २०७४ मा स्पष्ट व्यवस्था भए अनुसार प्रत्येक महिनामा कम्तीमा एक पटक बैठक बस्ने कानुनी व्यवस्था भएपनि ६ महिनामा एक पटक बाहेक कार्यपालिकाको बैठक नबोलाएको हुँदा उल्लेखित ऐन अनुसार तत्काल बैठक र १४ औं हिउदे नगर सभाको मिति तोक्न ज्ञापन पत्रमा माग गरिएको छ ।
साथै कर्मचारी नियुक्तीको लागि २०८० साउन १ गते नगरपालिकाले सुचना प्रकाशित गरेको र उक्त सुचना प्रकाशित भएपछि पनि कर्मचारी नियुक्तिको काम नगरिएको भन्दै नेतृत्वको ध्यानर्कषण समेत गराइएको छ । समयमै कर्मचारी नियुक्ति नगर्दा शिक्षा प्रमुख, योजना प्रमुख, लेखा अधिकृत, विभिन्न वडामा सचिव तथा प्राविधिक कर्मचारीको अभावले कार्यसम्पादनमा समस्या भएको भन्दै कार्यपालिका सदस्य तथा नगर सभा सदस्यहरुले ध्यानर्कषण गराएका हुन । राप्तीमा कार्यपालिका सदस्य र नगर सभा सदस्य गरी ७१ जना जनप्रतिनिधि रहेका छन् ।
एमाले र काँग्रेसबाट निर्वाचित ६३ जना कार्यपालिका र नगर सभा सदस्यहरुले हस्ताक्षर गरी नगरपालिकालाई ज्ञापनपत्र बुझाएका हुन् । सो नगरपालिकाका मेयर शमशेर लामाले राजनीतिक पूर्वाग्रह राखेर कार्यपालिका र नगर सभा सदस्यहरुले नगरपालिकाको बदनाम गराउने नियतले ज्ञापनपत्र बुझाएको बताए । काँग्रेस र एमालेबाट निर्वाचित वडाध्यक्ष र वडासदस्यहरुको पनि कयौं कमजोरी रहेको भन्दै मेयरले लामाले उनीहरुले गरेका गलत क्रियाकलापको विरुद्धमा अख्तियारमा उजुरी दिने बताए । समस्या छलफलबाट टुङ्ग्याउन सकिन्थ्यो उनले भने नियतबस ज्ञापनपत्र बुझाइएको छ, उहाँहरुको पनि कयौं गल्तीहरु छन, अब म अख्तियारमा उजुरी हाल्छु ।