चितवन । चितवनमा महिलाको नक्कली फेसबुक एकाउण्ट बनाई ब्ल्याक मेल गरी फिरौती रकम माग गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा रत्ननगर नगारपालिका–१३ बस्ने वर्ष २० को प्रवेश रिमाल, सिराहा लाहान नगरपालिका–१ बस्ने वर्ष १९ को युनिक सिंह, कास्कीको पोखरा महानगरपालिका–२९ बस्ने वर्ष २२ को अनुराग घिमिरे रहेका छन् ।
उनीहरुले महिलाको नक्कली फेसबुक एकाउण्ट बनाएर पुरुषहरुसँग विभिन्न समयमा कुराकानी गरी अश्लिल भिडियो तथा फोटो पठाई पुरुष व्यक्तिसँग भिडियो कल गरी झुक्याई गोप्य फोटो तथा भिडियोलाई स्क्रिन रेकर्ड तथा स्क्रिन सट गरी उक्त फोटो तथा भिडियोको आधारमा पैसा माग गर्ने गरेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।
पैसा नदीएको खण्डमा भिडियो तथा फोटो सार्वजनिक गरिदिने भनि फिरौती रकम माग गरेको भन्ने उजुरीका आधारमा उनीहरुलाई बुधवार भरतपुर–१६ बाट पक्राउ गरिएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
उनीहरुको साथबाट फिरौती लिएको रकम ७६ हजार रुपैयाँ र चार थान मोबाइल बरामद गरिएको उनले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।