चितवन। बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्त समारोह भरतपुरमा सम्पन्न भएको छ । नेपाल सितोरियो कराते संघको आयोजना र नेपाल सितोरियो कराते संघ बागमती प्रदेशको व्यवस्थापनमा भरतपुर कभर्ड हलमा चार दिनसम्म चलेको समारोह बिहीबार सम्पन्न भएको हो ।
कार्यक्रममा बागमती प्रदेशका १२ जिल्लाबाट सहभागी करिब दुई सय जना खेलाडीहरु सहभागी थिए । उनीहरुलाई चार दिनको प्रशिक्षणपछि आज दिक्षित गरिएको हो । उनीहरुलाई खेलको नियम, आत्मरक्षा सम्बन्धि प्रशिक्षण दिईएको सितोरियो कराते संघ बागमती प्रदेश अध्यक्ष गगन लामाले जानकारी दिए । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषदका मुख्य प्रशिक्षक तुलसीकुमार महर्जनले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणमा सहभागी भएकाहरु मध्ये एक सय ७० जना फर्स्ट डन, ६ जना सेकेन्ड डन र ९ जना थर्ड डनमा बढुवा भएका छन् । उनीहरुलाई कार्यक्रमको प्रमुख अतिथि नेपाल कराते महासंघका केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव युवराज लामा, सितेरियो कराते संघका केन्द्रीय अध्यक्ष एवं कराते महासंघका महासचिव दावा गुरुङलगायतले दिक्षित गरेका थिए ।
कार्यक्रममा भरतपुर १० वडाध्यक्ष परमेश्वर खनाल, ४ का वडाध्यक्ष अर्पण पोखरेल, चितवन जिल्ला खेलकुद बिकास समिति सदस्य कल्पना पौडेल, सितोरियो कराते संघ भरतपुर महानगर समिति अध्यक्ष राजन कार्की लगायतको उपस्थिति रहेको थियो ।