काठमाडौ। नेपालविरुद्धको खेलमा पपुवा न्यू गिनी (पीएनजी) का ब्याट्स्म्यानले कमजोर प्रदर्शन गरेका छन्। नेपालले जितका लागि १३५ रनको लक्ष्य पाएको छ। नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे। उनले १० ओभर बलिङ गर्दै ३५ रन दिएर चार विकेट लिए। योसँगै उनले आफ्नो ओडीआई विकेट संख्या २७ पुर्याएका छन्। उनी नेपालबाट सबैभन्दा बढी विकेट लिने खेलाडी हुन्।
आजको खेलमा कुनै पनि समय नेपाली बलरले पीएनजीका ब्याट्स्म्यानलाई खुलेर खेल्न दिएनन्। नेपालबाट ओडीआईमा डेब्यु गरेका विक्रम सोबले दोस्रो ओभरमा बलिङ थाल्नेबित्तिकै विकेट लिएका थिए। उनले ओडीआई करियरको आफ्नो पहिलो बलमा नै विकेट लिएर नयाँ कीर्तिमान बनाए। पहिलो बलमा नै विकेट लिने उनी पहिलो नेपाली बलर हुन्।
३ रनमा पहिलो विकेट गुमाएको पीएनजीले दोस्रो विकेट ९ रनमा गुमाएको थियो। दोस्रो विकेट पनि विक्रमले नै लिएका थिए। नेपालका लागि कुशल मल्लले पनि दुई विकेट लिए भने सोमपाल कामीले एक विकेट लिए।
पीएनजीका लेगा सिआका र चाल्र्स अमिनीले तेस्रो विकेटका लागि सर्वाधिक ५० रनको साझेदारी गरेका थिए। तर, टीमको रन ५९ पुग्दा दुवै जनाले आफ्नो विकेट गुमाए। अमिनी २३ बनाउँदा सन्दीपको बलमा बाहिरिए। सिआकालाई ३० रनमा कुशलले पेभेलियन पठाए।
पीएनजीले पाँचौँ विकेट ८५ रनमा गुमेको थियो। छैटौँ ९६ र सातौँ विकेट ९७ रनमा गुमाएको थियो। त्यस्तै आठौँ १२४ र नवौँ विकेट १२५ रनमा गुमेको थियो। अन्तिम विकेट १३४ रनमा गुकाएको थियो।
केही बेरमा लक्ष्य पछ्याउँदै नेपालले ब्याटिङ गर्नेछ। आज नेपालका लागि कुशल भुर्तेल र आसिफ सेखले ब्याटिङ गर्ने लगभग निश्चित छ। दुवै जनाले आजै डेब्यु गर्ने मौका पाएका हुन्।