चितवन । भरतपुर महानगरपालिका–१ आँपटारीमा रहेको दियालो बंगला सर्वसाधारणले अवलोकन गर्न पाउने गरि खुला हुने भएको छ । नेपाल ट्रष्टको बुधबार भएको ७८ औँ सञ्चालक समितिको बैठकले दियालो बंगला खुला गर्ने निर्णय गरेको हो । ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला तत्कालीन राजा महेन्द्रले निर्माण गरेका हुन् ।
नेपाल ट्रष्टका सञ्चालक समिति सदस्य देवीचन्द्र उपाध्यायले बंगलाको रंगरोगन तथा मर्मत गर्नुपर्ने ठाउँहरु मर्मत सकेर सर्वसाधारणले अवलोकन गर्न पाउने गरि खुलाउन लागिएको बताईएको छ ।
सदस्य उपाध्यायका अनुसार भरतपुर भ्रमणवर्ष २०२४ लाई लक्षित गरि दियालो बंगला खुलाउने निर्णय गरिएको हो । भरतपुर महानगरले यहि जनवरीदेखि भरतपुर भ्रमण वर्ष सञ्चालन गर्न लागेको छ ।
उनले चितवनको भरतपुर महानगरपालिका भित्र पर्ने भएकोले दियालो बंगलाको व्यवस्थापन भरतपुर महानगरपालिका र नेपाल ट्रष्ट दुबैले गर्नेगरि खुलाउन लागिएको बताए ।
आम्दानीको ५० प्रतिशत नेपाल ट्रष्ट र ५० प्रतिशत भरतपुर महानगरलाई हुने गरि सञ्चालन तयारी गरिएको छ । यद्यपि प्रक्रिया पुरा गरि सञ्चालनमा आउन अझै दुई महिनाजति लाग्छ ।
तत्कालीन राजा महेन्द्रको निधन भएको दियालो बंगला ३५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । तत्कालीन राजपरिवार यही दरबारमा आएर बस्ने, नारायणी नदी किनार क्षेत्रमा घुम्ने गर्दथे । अहिले यस दरबार क्षेत्रमा नेपाल ट्रष्टका केही कर्मचारी व्यवस्थापनका लागि छन् भने सुरक्षा तथा संरक्षण नेपाली सेनाले गरेको छ ।
के छ दरबारमा ?
दियालो बङ्गला क्षेत्र देवघाट प्रवेशद्वारमा छ । ऐतिहासिकरूपले निकै महत्वपूर्ण मानिएको दरबार यतिबेला प्रयोगविहीन भएकाले ओझेलमा छ । दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा राजा महेन्द्र र वीरेन्द्रको तस्बिर देख्न सकिन्छ । भ¥याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको राखिएको छ ।
दरबारमा पाँचवटा खोपी छन् । १ नम्बरको खोपी मुमा रत्नराज्यको हो भने २ नम्बरको राजा र ३ नम्बरको रानी तथा ४ र ५ नम्बरको खोपी राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा भित्रै शौचालय पनि छ । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको त्यस्तै राखिएको छ । दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि आवास पनि छ । साथै सो क्षेत्रमा ‘ग्यारेज’ र त्यसको छेउमा ‘स्वीमिङ पुल’पनि छ ।
ऐतिहासिक यो दरबार सर्वसाधारणको पहुँचभन्दा बाहिर छ । शान्त एवं रमणीय यो बङ्गलाको पश्चिम भएर बग्ने नारायणी नदीले दरबार क्षेत्रको सौन्दर्य बढाएको छभने दरबारको बगैँचाले जोकोहीलाई आकर्षित गर्छ ।