चितवन । भरतपुर महानगरपालिकाको आयोजनामा चालु आर्थिक वर्षको प्रथम चौमासिक (साउन–कातिक) सम्ममा भएका कामको सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार वडा नं–२२ पटिहानीमा सम्पन्न भएको छ ।
सार्वजनिक सुनुवाइका क्रममा वडावासीले महानगरबाट प्राप्त गर्ने सेवाको अझै जनमुखी बनाउन सुझाव दिएका छन् । उनीहरुले महानगरको विकास निर्माण र सेवाप्रवाहबाट सन्तुष्ट रहेको बताएका छन् ।
कार्यक्रमको सहजीकरण गरेको भ्रष्टाचारविरुद्ध अभियान चितवनले सार्वजनिक गरेको प्रतिवेदनमा महानगरका वडा र महानगर कार्यालयमा आउने सेवाग्राहीसँग सर्वेक्षणमा सो कुरा बताइएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरमा साझेदार निकाय, संघीय सरकार र प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माणका कामहरूमा गुणस्तरलगायत कुनै पनि कुरामा गुनासो नआउने गरी काम गर्न निर्देशन दिएकी छन् । उनले महानगर गौरवको आयोजनाको रुपमा रहेको सिटीहल निर्माण सम्पन्न हुने चरणमा रहेको बताउँदै क्रिकेट रङ्गशालाको कामसमेत एक महिनाभित्र सबै प्रक्रिया पूरा गरी अलपत्र निर्माण कार्य सुचारु हुने बताइन् ।
उनले महानगर अब विकास र समृद्धिका बाटाहरुसँगै आर्थिक विकासका लागि जनमुखी काममा थप सक्रिय बनेको स्पष्ट पारिन् । यस चौमासिक प्रगति समीक्षामा नगरवासीको रचनात्मक सुझाव र विकासमा तीव्र चासो रहेको बताउँदै उनले यसलाई मनन गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।
भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले महानगर योजनावद्ध र सन्तुलित विकासको नीतिलाई अवलम्बन गर्दै दिगो र आत्मनिर्भर विकासको पक्षमा काम अगाडि बढाइरहेको बताए । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सामाजिक सुरक्षा र सुशासन कायम गर्दै अगाडि बढिरहेको बताउँदै उनले यसलाई कायम गर्न महानगरवासीको रचनात्मक सुझाव र खबरदारी निरन्तर रहनुपर्ने बताए । उनले जनताको गुनासोलाई आत्मसात् गर्दै सार्वजनिक सुनुवाइका गुनासोलाई थप सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा चौमासिक प्रगति प्रतिवेदन पेस गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले आर्थिक वर्ष २०८०/८१ को विनियोजित ६ अर्ब ३९ करोड ७९ लाख ९० हजार रहेकोमा ४ महिनामा १४ दशमलव ३४ प्रतिशत खर्च भएको जानकारी दिए । यो कुल बजेटमा ९१ करोड ७५ लाख २२ हजार रुपैयाँ हुन आउँछ ।
यस्तै, चालु बजेटतर्फ २ करोड अर्ब ६७ करोड १४ लाख ८४ हजार रुपैयाँ विनियोजित भएकोमा ६० करोड ७८ लाख ४७ हजार २ सय ५२ रुपैयाँ खर्च भएको उनले बताए । जुन समग्र बजेटको २२.२४ प्रतिशत प्रगति हो ।
यस्तै, उनले पुजीँगततर्फ ३ अर्ब ७२ करोड ६५ लाख ६ हजार रुपैयाँ विनियोजित भएकोमा ३२ करोड ८४ लाख ३९ हजार ३० रुपैयाँ खर्च गरिएको बताए । यो समग्र पुँजीगत खर्चको ८.८१ प्रतिशत हो ।
यसैगरी, महानगरले लिएको राजस्व लक्ष्यमध्ये प्रथम चौमासिकसम्म ३३ करोड १९ लाख ८५ हजार ७ सय ९० रुपैयाँ राजस्व संकलन गरी प्रक्षेपण गरिएको रकमको १९ प्रतिशत राजस्व संकलन गरिएको छ । यसैगरी, न्यायिक समितिमा जम्मा ४७ वटा उजुरी प्राप्त भएकोमा ३२ वटा फछ्र्यौट भएको छ । यस चौमासिकमा ऐन, कार्यविधि, मापदण्ड गरी जम्मा १० वटा कानुन निर्माण भएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले महानगरले जनमुखी भई नागरिकलाई सन्तुष्ट पार्न सफल भएकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्की, विभिन्न महाशाखाका प्रमुखहरुले जनताले उठाएका प्रश्नको जवाफ दिएका थिए ।