चितवन। चितवन राष्ट्रिय निकुञ्जले माडी क्षेत्रमा पर्ने सामुदायिक वनमा बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ गर्ने भएको छ । माडी र ठोरीको मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाघको ‘इकोलोजिकल मोनिटरिङ’ गर्नका लागि क्यामेरा ट्यापिङ गर्न लागिएको हो ।
निकुञ्जको आयोजना र तराई भूपरिधि कार्यक्रम (ताल) को सहयोगमा यही असोज २५ गतेदेखि क्यामेरा ट्यापिङ गर्न लागिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आगामी कात्तिक २५ गतेसम्म क्यामेरा ट्यापिङको विधिबाट बाघको अवस्थाबारे जानकारी लिइनेछ । यसका लागि ६२ वटा क्यामेरा दुई वर्ग किलोमिटरको फरकमा जडान गरिनेछ ।
तीन ब्लकमा विभाजन गरी क्यामेरा ट्यापिङको काम गरिने उनले जानकारी दिए। एउटा ब्लकमा १७ देखि २१ वटा ग्रिड निर्माण गरी क्यामरा जडान गरिनेछ । एउटा ग्रिडमा एक जोडी क्यामेरा जडान गरिने उहाँले बताउनुभयो । बाघको सम्भावित क्षेत्रको अध्ययन गरी ग्रीड निर्माण गरिनेछ । टाइगर इकोलोजिकल मोनिटरिङ अफ सोमेश्वर हिल कार्यक्रमअन्तर्गत बाघको बासस्थान र अवस्थाको अध्ययन गर्न लागिएको हो ।
उनका अनुसार सन् २०१८ मा सो क्षेत्रमा तीन बाघ रहेको र सन् २०२२ मा यो सङ्ख्या बढेर आठ पुगेको छ । सोमेश्वर पर्वत माला र भारतको वाल्मिकी टाइगर रिजर्भ क्षेत्र पर्ने भएकाले यहाँ बाघको बासस्थान, आहारा र अवस्था कस्तो रहन्छ भन्ने विषयमा अध्ययन गर्न लागिएको हो । संरक्षणसम्बन्धी योजना निर्माणका लागि सहयोग पुग्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको तिवारीले जानकारी दिए।
क्यामेरा ट्यापिङ्का लागि निकुञ्ज र तालका १५ जना कर्मचारी परिचालन गरिनेछ । ती कर्मचारीबाहेक अन्य अनुगमनको काम भने निकुञ्ज प्रशासनले गर्नेगरी काम गर्न लागेको हो । वन पैदावार प्रयोगका क्रममा राखिएका क्यामेरामा क्षति पुग्नसक्ने भएकाले सामुदायिक वनका पदाधिकारी, उपभोक्तालाई जानकारी गराइएको उनले बताए।
निकुञ्जले आज एक कार्यक्रमको आयोजना गरी बाघको अध्ययनका लागि क्यामेरा ट्यापिङ विधिबारे जानकारी गराएको हो । कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुन, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, ताल कार्यक्रमका वाइल्डलाइफ बायोलोजिक शशांक पौडेल लगायतले कार्यक्रमका बारेमा जानकारी गराएका थिए।