नवलपुर। यात्रुको पैसा चोरेर भागेका एक व्यक्तिलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ ।
नगद चोरी फरार रहेका भारत घर बताउने २८ वर्षीय ईरशाद अलीलाई नवलपुरको गैँडाकोट नगरपालिका १० पितौजीबाट सोमबार सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म नवलपुरले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सह प्रबक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
आइतबार साँझ बर्दियाबाट काठमाडौंतर्फ आउँदै गरेको भे १ ख ३९३४ नम्बरको यात्रुवाहक बसको एउटै सिटमा बसेर आएका बर्दियाको बडियाताल बस्ने २३ वर्षीय मधु परियारको ५० हजार नगद चोरी गरेर अली फरार भएका थिए ।
गैँडाकोटको कोटिहोम चोक स्थित पूर्व–पश्चिम लोकमार्गमा यात्रुवाहक बसमा सवार यात्रुहरू ओर्लने क्रममा अली सो रकम चोरी जंगलतर्फ फरार भएका थिए ।
उक्त रकम हराएको भनि पितौजीस्थित सशस्त्र प्रहरी बलको हाइवे सुरक्षा चेकपोष्टलाई जानकारी गराएपछि पूर्व–पश्चिम लोकमार्गमा चल्ने यात्रुवाहक बसमा जाँच गर्दा गैँडाकोटबाट चितवनतर्फ आउँदै गरेको बसबाट उनलाई चोरिएको नगदसहित हुलियाको आधारमा नियन्त्रणमा लिइएको डीएसपी थापाले बताए ।
नियन्त्रणमा लिएका अलीलाई नगदसहित आवश्यक कारबाहीको लागि प्रहरी चौकी बेल्डियामा बुझाइएको छ ।