चितवन। प्रहरीले १६ वर्षअघिको जर्बस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन,भरतपुर महानगरपालिका–८ गौरीगंज बस्ने वर्ष ५८ का अमरेश कडेल रहेका छन् ।
प्रहरीका अनुसार वि.स. २०६४ साल पुस ५ गते साँझ साढे नौ बजेको समयमा मादक पदार्थ सेवन गरी ललितपुर ठैव गाविस–८ लिन्टीकल सेन्टर प्रालिको क्यान्टिनमा खाना नास्ता बनाउने नाबालिकालाई जबरजस्ती करणी र सामूहिक करणी गरेका थिए।
सो सम्बन्धी मुद्दामा ललितपुर जिल्ला अदालतबाट प्रतिवादी अर्जुन कार्की समेतलाई जबर्जस्ती करणीमा पाँच वर्ष र सामूहिक करणीमा पाँच वर्ष गरी १० वर्ष कैद सजाय भएको थियो।
सोही समयदेखि भागी फरार रहेका कडेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित टोलीले भरतपुरबाट पक्राउ गरेको हो।
उनलाई फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतमा पेश गरेकोमा अदालतबाट कैद भुक्तानको लागि आजै कारागार कार्यालय चितवन पठाइएको प्रहरीले जनाएको छ।