चितवन। भरतपुर महानगरपालिकाको गौरवको आयोजना भनिएको देवघाटको विद्युतीय शवदाह गृह निर्माणको कामको सम्झौता भएको पाँच वर्ष भएको छ । देवघाटधाममा निर्माण सुरु भएको विद्युतीय शवदाह गृह अझै सम्पन्न भएको छैन । तोकिएको समयमा निर्माण कम्पनीले काम नगरेपछि सरकारी निकायसमेत हैरानीमा परेको छ ।
“दुई वर्षमा निर्माण सम्पन्न गर्ने भनेर लिएको ठेक्का पाँच वर्ष बितिसक्दा पनि सम्पन्न नभएकाले ज्यादै हैरानीमा परेका छौँ । समयमा काम नगर्ने ठेकेदारलाई सचेत गर्ने, जरिबाना लगाउने सबै प्रक्रिया पूरा गरिसक्दा पनि काम हुन सकेको छैन,” सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरका प्रमुख झपडबहादुर थापाले भन्नुभयो ।
ठेक्का सम्झौता तोडेर अन्यलाई दिनका लागि प्रक्रिया पूरा गर्दागर्दै दुई वर्ष लाग्ने भएकाले जिम्मा लिएकालाई नै काम गराउन दबाब दिइराखेको प्रमुख थापाले बताउनुभयो ।
कामको प्रगति नदेखिएपछि ठेकेदारको ग्यारेन्टी रकम जफत भएको छ । सघन सहरी तथा भवन निर्माण कार्यालयले निर्माण कम्पनीको एक करोड ७० लाख रुपियाँ ग्यारेन्टी रकम जफत गरेको हो । हाल शवदाह गृहको पहिलो ढलान सकेर पिल्लर उठाउने काम भइरहेको छ । हालसम्म शवदाह गृहको काम ३५ प्रतिशत सकिएको कार्यालयले जानकारी दिएको छ ।
भरतपुर महानगरको गौरवको परियोजनामध्ये सबैभन्दा सुस्त गतिमा काम भइरहेको देवघाटको विद्युतीय शवदाह गृह हो । शवदाह गृह निर्माण सम्पन्न गर्न तीन पटकसम्म म्याद थपिएको छ तर काम पूरा भइसकेको छैन । तेस्रो पटक थपिएको म्याद पनि सकिएको छ । चौथो पटक म्याद थप भइसकेको छैन, काम भने सुस्त छ । “कार्यालयले छिटो काम सम्पन्न गर्न दबाब दिएपछि निर्माण कम्पनीबाट अन्तिम पटक मौका दिन माग भएको छ । निर्माण कम्पनीले काममा तदारुकता देखाउँछ कि भनेर हेर्दै गइरहेका छौँ । निर्माण व्यवसायी सम्पर्कमा आएर काम गर्ने प्रतिबद्धता जनाएपछि काम पूरा हुने आशा पलाएको छ,” थापाले भन्नुभयो ।
पटक पटक म्याद थपिँदा पनि निर्माण पूरा नभएकाले अब ठेक्का तोडेर अगाडि बढ्ने मनसाय बनाइरहँदा निर्माण व्यवसायीले तदारुकता देखाएको छ । ठेक्का तोड्ने वा म्याद थप्ने अधिकार सहरी विकास तथा भवन निर्माण विभागसँग हुन्छ ।
विसं २०७५ माघ ३ मा शवदाह निर्माणका लागि मिलिनियम सिद्धगढी जेभीले ठेक्का पाएको हो । शवदाह गृहको पहिलो निर्माण सम्झौता अवधि २०७७ साल माघ ३ गते सकिएको थियो । यो समयमा निर्माण नभएपछि २०७८ साल चैत मसान्तसम्म निर्माण सक्ने गरी म्याद थपियो । चैत मसान्तसम्म पनि निर्माण नभएपछि फेरि तेस्रो पटक २०७९ साउन ३० गतेसम्म म्याद थपियो । सङ्घीय सरकारको बजेटबाट मूल्य अभिवृद्धि करबाहेक नौ करोड ९२ लाखमा शवदाह गृह निर्माणको ठेक्का लगाइएको हो । छ सय वर्गमिटरमा शवदाह गृह बन्न लागेको हो ।
चितवन, तनहुँ र नवलपरासी तीन जिल्लाको सङ्गमस्थल देवघाटमा दैनिक कम्तीमा पाँच वटा शव दाहसंस्कार गर्न ल्याउने गरिएको छ । यहाँ विद्युतीय शवदाह गर्न वर्षौंदेखि आवाज उठिराखेको थियो । निर्माणको प्रक्रिया अगाडि बढेपछि देवघाट क्षेत्र विकास समितिले दाउराको अभाव, वर्षात्मा दाहसंस्कार गर्न नदीको बहाव तीव्र हुँदा हुने जोखिम कम हुँदै जाने विश्वास लिएको थियो तर निर्माणको काम सुस्त हुँदा चिन्ता भएको देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष स्थानीय बद्री अधिकारीले बताउनुभयो ।