चितवन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले धार्मिक र जातीय सदभाव कायम गराउन नसक्ने हो भने देश अप्ठ्यारो अवस्थामा जाने बताउनुभएको छ ।
कांग्रेस चितवनले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले सदभाव कायम गराउन सबै पक्ष लाग्नुपर्ने उहाँले बताउनुभयो । “जथाभाबी बोल्दा लोकतन्त्रलाई नै समस्या पर्ने देखिएको छ” उहाँले थप्नुभयो, “अव हिंसा फैलने गरी हैन, देशमा शान्ति स्थापना गर्ने गरी हाम्रा गतिविधहरु अघि बढ्नु पर्छ ।”
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले जातीय राज्य दिन्छु भन्नु र काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारमा आगो लगाउँछु भन्नु दुवै गलत भएको बताउनुभयो ।
“धर्मका नाममा होस् वा जातीय आधारमा होस्, अव देशमा सदभाव कायम गर्न नसके अफठ्यारो परिस्थिति आउँछ भन्ने कुरा बुझ्नु पर्छ” उहाँले भन्नुभयो । काँग्रेसका कार्यकर्ताहरूलाई उहाँले अब अन्याय सहन नपर्ने विश्वास दिलाउनुभयो ।
“कुनै कार्यकर्तालाई अव अन्याय हुन दिन्न, यो मेरो बाचा भयो” उहाँले भन्नुभयो, “कार्यकर्ताहरूले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।” उहाँले पार्टीमा अब माथिल्लो तहबाट निर्देशन नभई तल्लो तहका कुरा सुनेर कार्यान्वयनमा जानुपर्ने धारणा राख्नुभयो ।
“माथिबाट निर्देशन गर्ने परिपाटी अन्त हुनुपर्छ । अब सभापतिले निर्देशन गर्ने हैन, काँग्रेसका क्षेत्रीय प्रतिनिधिहरूले बनाएको योजनाअनुसार पार्टी अघि बढाउनुपर्छ” उहाँले भन्नुभयो ।
नेता बिपी कोइराला, गणेशमान सिंह, सुवर्णशमसेर लगायतका नेताले जन्माएको पार्टीलाई अझ बलियो र सशक्त बनाउने जिम्मेवारी काँग्रेस कार्यकर्ताको भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा कांगेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, युवा नेता गुरुराज घिमिरे, पूर्वमन्त्री उमा रेग्मी, नेता जीतनारायण श्रेष्ठ, कृष्णलाल सापकोटा लगायतका वक्ताहरूले बोल्नुभएको थियो ।