चितवन । माडी नगरपालिका वडा नं ४ शीतलपुरकी क्याम्पस पीडित सीता परियारको उपचारको लागि आर्थिक सहयोग गरिएको छ ।
रत्ननगर १३ मा रहेको समाजकल्याण कोषले उनको उपचारको लागि १५ हजार रुपैया सहयोग गरेको हो । चितवन पोष्ट दैनिकले मंगलबार ‘खर्च जुटाउन नसकेपछि सहयोग गरिदिन अपील’ शीर्षकमा समाचार प्रकाशित गरेपछि सोही समाचारको आधारमा कोषले परियारको उपचारको लागि आर्थिक सहयोग गरेको हो । चितवन पोष्ट दैनिक मार्फत सो सहयोग गरिएको हो ।
कोषका अध्यक्ष दुर्गा पुरीले चितवन पोष्ट दैनिकका पूर्वी चितवन संवाददाता होमनाथ सापकोटालाई रकम हस्तान्तरण गरेका छन् । सो रकम चितवन पोष्ट दैनिकले सीता सम्म पुर्याउनेछ । सीताले जीविकोपार्जनमा भोगेको पीडा र उपचारमा भएको समस्याका बारेमा समाचारमा उल्लेख गरिएका शब्दले सहयोग गर्न प्रेरित गरेको अध्यक्ष पुरीले बताए । ‘जीवन भोगाईमा सीताले अत्यन्त कष्ट भोगेको थाहा पायौं’ उनले भने ‘उनै महिला क्यान्सरसंग जुध्दै गरेको थाहापाएपछि आर्थिक सहयोग गरेका हौं’ ।
रकम हस्तान्तरण कार्यक्रममा कोषका सचिव शिवराज सुवेदी, कोषाध्यक्ष गोविन्दप्रसाद भट्टराई, ऋण उपसमितिका संयोजक पूर्ण पुरी, कोषका सदस्य बसन्त अर्याल समेत सहभागी थिए । २७ बर्षीय सीताले २०७९ चैत महिनादेखि विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराइरहेकी छन् । आर्थिक अबस्था कमजोर रहेकी सीताको उपचारमा अहिले आर्थिक अभाव भएको छ ।
२०४५ सालमा स्थापना भएको समाजकल्याण कोषमा रहेको रकमको व्याज सामाजिक क्षेत्रमा खर्च गरिदै आएको छ । विपन्नको उपचार, शिक्षा, दैविक प्रकोप पीडित, सामाजिक कार्य, अस्पताल तथा अन्य सामाजिक संघसंस्थालाई समेत सहयोग गर्दै आएको अध्यक्ष पुरीले जानकारी दिए ।