चितवन। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता छिट्टै हुने बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग आज कुराकानी गर्दै मन्त्री बस्नेतले सम्झौतासम्बन्धी यसैवर्ष औपचारिक रुपमा घोषणा समेत गरिने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “औपचारिकता दिनुपर्ने केही काम बाँकी छन्, त्यो पनि अन्तिम चरणमा आइपुगेको छ । सम्झौतापछि कार्यान्वयनमा जान्छ ।” उहाँले सुख्खा र वर्षा दुवै समयमा नेपाल विद्युत्मा आत्मनिर्भर हुन लागेको बताउनुभयो । “हामी पूर्णरुपमा आत्मनिर्भर बन्दैछौँ, यससँगै सबै समस्याको समाधान हुन्छ”, उहाँले भन्नुभयो ।
वर्षामा विद्युत् बढी उत्पादन हुने र सुख्खायाममा अपुग हुने स्थिति छिट्टै समाधान हुने मन्त्री बस्नेतको दाबी छ । उत्पादन वृद्धि गरेर वितरण प्रणालीलाई व्यवस्थित गर्ने काम हाल भइरहेको उहाँको भनाइ छ । पचास प्रतिशत क्षेत्रमा मात्रै भएको विद्युतीकरणलाई बढाएर ९८ प्रतिशत क्षेत्रमा पु¥याएको भन्दै उहाँले हाल देखिएका समस्या छिट्टै समाधान हुने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, “अबको सुख्खा सिजनमा अहिले देखिएका समस्या समाधान भएर जान्छन् । सरकारले एकीकृत योजनाका साथ ऊर्जा क्षेत्रको उत्पादन, प्रसारण र वितरण प्रणालीलाई व्यवस्थित गर्ने काम गरिरहेको छ ।” यससँगै सर्वसुलभ रुपमा विद्युत् व्यापार गर्ने विषयलाई समेत जोडेर एकीकृत योजनाका साथ अघि बढेको मन्त्री बस्नेतले बताउनुभयो ।
उहाँले भन्नुभयो “सबैलाई थप प्रभावकारी बनाउनका लागि नीतिगत र कानुन सुधारका काम हामीले गरिरहेका छौं ।”