चितवन । नेपाली काङ्ग्रेस चितवनले यहि भाद्र २३ र २४ गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । पार्टी कार्यलय कमलनगर नारायणगढमा सोमबार बसेको जिल्ला कार्यसमितिको नियमित पुर्ण बैठकले भाद्र २३ र २४ गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलनलाई नेपाली कांग्रेसका केन्द्रीय नेता डा. शेखर कोइरालाले सम्बोधन गर्नु हुनेछ भने अन्य केन्द्रीय नेताहरुको विशेष उपस्थिति रहने नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले क्रियाशील सदस्यता नविकरण अभियान र आन्तरिक विशेष अभियानको समिक्षा गरि जिल्ला प्रतिनिधि, वडा सभापति,कार्यसमिति लगाएत सवै तहका कार्यकर्ताहरुलाई विशेष धन्यबाद ज्ञापन समेत गरेको छ । यसैगरी बैठकमा सभापति राजेश्वर खनालले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र सचिव ध्रवराज पोखरेलले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदनलाई सुझाव र प्रतिक्रिया सहित अनुमोदन गरि जिल्ला सम्मेलनमा पेश गर्ने निर्णय समेत गरिएको छ ।
बैठकले जिल्ला सदस्य जगन्नाथ न्यौपानेको संयोजकत्वमा गठित अभिलेख, मूल्याङ्कन तथा अनुगमन बिभागको कार्यविधि सुझाव सहित पारित गर्दै ७ वटै पालिकाहरुमा पालिका बाटिका निर्माण गर्ने,भाद्र २७ गते महिला संघको आयोजनामा दरखाने कार्यक्रम सम्पन्न गर्ने र नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य हरिप्रसाद न्यौपानेको शोक प्रस्ताव पारित गरी उनिप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको छ ।
पार्टी सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकमा जिल्ला कार्यसमिति पदाधिकारी, सदस्यहरु, क्षेत्रीय सभापतिहरु, प्रदेशसभा सभापतिहरु, पालिका सभापतिहरु लगाएतका अन्य तह र तप्काका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
बैठकमा क्रियाशील सदस्यता नविकरण अभियान र आन्तरिक विशेष अभियान-२०८० को समिक्षा गर्नुका साथै आगामी पालिका सम्मेलन, प्रदेशसभा सम्मेलन, क्षेत्रीय सम्मेलनका वारेमा बृहत छलफल गरि सुझाव संकलन गरिएको छ । पार्टीले भोलि मगलबार भरतपुर महानगर सम्मेलन गर्दैछ ।