चितवन । भरतपुर महानगरपालिकाले बजार अनुगमनलाई पुनः सुचारू गरेको छ । बजारमा विशेषगरी अखाद्य वस्तुको खुलेआम बिक्रीवितरण भइरहेको लिखित उजुरी महानगरको उजुरी पेटिकामा आएपछि महानगर थप एक्सनमा उत्रिएको हो ।
मंगलबार महानगरको उजुरी पेटिकामा एक जना सेवाग्राहीले गोप्य तरिकाबाट लिखित उजुरी हालेपछि लगत्तै महानगरले तत्काल बजार अनुगमनमा जाने निर्णय गरेको बजार अनुगमन समिति संयोजक एवं महानगर उपप्रमुख चित्रसेन अधिकारीले बताए ।
अनुगमनमा भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनाल, बजार अनुगमन समितिका सदस्य विष्णुबहादुर भुजेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षक वन्दना पन्त, उपभोक्ता हित संरक्षण शाखा तथा प्रशासकीय सुधार इकाइका अधिकृत ठानेश्वर सापकोटा, नगर प्रहरीहरुको उपस्थिति रहेको थियो ।
अनुगमन समितिले भरतपुर–१० मा रहेका २ वटा पानीपुरी बनाउने साना उद्योगहरु, अस्पताल रोडमा रहेको न्यू थकाली होटल एण्ड तन्दुरी रेस्टुरेन्ट र छहारी तन्दुरी होटलको अनुगमन गरेको छ । अनुगमनका क्रममा पानीपुरी उद्योगहरु दर्ता नगरी सञ्चालन गरिएको, पानीपुरी बनाउन प्रयोग गरिने मसला, अमिलो र रङ अखाद्य भेटिएको छ । त्यस्तै, होटल तथा रेस्टुरेन्टमा अखाद्य तेल प्रयोग भएको, सरसफाइमा ध्यान नदिएको, भान्छामा खाना पकाउँदा सावधानी नअपनाइएको पाइएको छ ।
भरतपुर–१० स्थित पुरानो ज्ञानदर्शन सडक र सप्तगण्डकी चोकनजिकै रहेको २ वटा पानीपुरी बनाउने साना उद्योगहरु हालका लागि बन्द गराइएको वडा अध्यक्ष परमेश्वर खनालले जानकारी दिए ।
स्वच्छ एवं उपभोक्तामैत्री व्यापारिक क्रियाकलापका लागि महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले अनुगमनलाई निरन्तरता दिएको हो ।
‘अनुगमनमा खाद्यान्न, तरकारी, मरमसला, फलफूल, माछा, मासु, दूध तथा दुग्धजन्य खाद्यवस्तुको मूल्य र गुणस्तर हेर्ने गरिएको छ’, बजार अनुगमन समितिका सदस्य विष्णुबहादुर भुजेलले भने, ‘यतिमात्रै नभई सबै प्रकारका क्षेत्रहरुको पनि महानगरले छड्के अनुगमन गर्नेछ ।’
उपभोग्य सामान मात्र बिक्रीवितरण गराउन सकियोस् भन्ने उद्देश्यले अनुगमनलाई तीव्र बनाइएको भरतपुर महानगरपालिकाले जनाएको छ । बजारमा हुने कालोबजारी, राजस्व छली, म्याद गुज्रिएका दैनिक उपभोग्य वस्तुहरुमाथिको अनुगमन तथा निरीक्षण कार्यलाई भरतपुर महानगरपालिकाले निरन्तरता दिइरहेको छ । नियमित संयुक्त बजार अनुगमनको टोलीले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिनाइजाजत व्यवसाय सञ्चालन गरिरहेकामाथि कडाइ सुरू गर्दै लगेको छ ।