गोरखा। गोरखा जिल्लाभित्रका पाँच स्थानीयको आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट स्वीकृत भएको छ । जिल्लाको बारपाक सुलिकोट , अजिरकोट, भीमसेन थापा, सिरानचोक र सहिद लखन गाउँपालिकाको आगामी आवको बजेट पारित भएको हो ।
बारपाक सुलिकोटले आगामी आव २०८०÷०८१ का लागि कूल रु ६० करोड ३९ लाख ६९ हजार बराबरको बजेट गाउँसभाबाट स्वीकृत गरिसकेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।
त्यस्तै सहिद लखनले रु ६३ करोड २० लाख १० हजार बराबरको बजेट गाउँसभाबाट स्वीकृत गरेको छ भने सिरानचोकले असार रु ७९ करोड ८४ लाख ५५ हजार ६ सय रुपैयाँ बराबरको बजेट घोषणा गरी पारित गरेको गाउँपालिकाले जनाएको छ । जिल्लाको अजिरकोटले आगामी आवका लागि रु ४९ करोड ३४ लाख ९३ हजार बराबरको बजेट पारित गरेको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो । भीमसेन थापाले रु ५५ करोड ८४ लाख ३० हजार चार सयको बजेट ल्याएको छ ।
सो गाउँपालिकाले यही असार १० गते नीति तथा कार्यक्रम र बजेट एकैदिन गाउँसभाबाट स्वीकृत गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बङ्जरा (अक्कल) ले जानकारी दिनुभयो । पाँचवटै स्थानीय तहहरुले असार १० गतेभित्रै आगामी आवको बजेट नीति तथा कार्यक्रम पारित गरेका हुन् ।
जिल्लाको ११ स्थानीय तहमध्ये छ स्थानीय तहरुको बजेट भने स्वीकृत गर्न बाँकी रहेको छ । गोरखा र पालुङटार नगरपालिका, आरुघाट, चुमनुब्री, धार्चे र गण्डकी गाउँपालिकाको बजेट पारित हुन बाँकी रहेको हो ।
गोरखाले आवका लागि कूल रु एक अर्ब ३२ लाख ६५ हजारको बजेट नगरसभामा पेश गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो । त्यस्तै पालुङटार नगरपालिकाले रु ८३ करोड ८७ लाख २५ हजार, आरुघाटले रु ५८ करोड १६ लाख १७ हजार सात सयको बजेट गाउँसभामा पेश गरेको छ ।
उत्तरी गोरखाको चुमनुब्रीले पनि आगामी आवको बजेट स्वीकृत हुन बाँकी रहेको जनाएको छ । आजदेखि सुरु हुने गाउँसभाले आगामी आवको बजेट पारित गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । धार्चेले रु ४८ करोड ९१ हजार पाँच सय बराबरको बजेट ल्याएको छ भने गण्डकी गाउँपालिकाले रु ६१ करोड ७२ लाख बजेट गाउँसभामा पेश गरेको छ । गाउँसभाबाट बजेट पारित हुन बाँकी रहेका सबै स्थानीय तहहरुले असारभित्रै बजेट स्वीकृत भइसक्ने जनाएका छन् ।