चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँको बजेट ल्याएको छ । महानगरको १३औँ नगर सभामा बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख चित्रसेन अधिकारीले नीति तथा कार्यक्रम कार्यान्वनय गर्नका लागि बजेट प्रस्तुत गरिएको बताए ।
आगामी आवमा आन्तरिक आय १ अर्व ७५ करोड (घरजग्गा रजिष्ट्रेशन एवं खानी तथा खानीजजन्य पदार्थको वाँडफाँडबाट प्राप्त आय समेत), अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्व ८३ करोड ९९ लाख ७५ हजार, केन्द्र तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट प्राप्त ५४ करोड ८० लाख १५ हजार र जनसहभागिताबाट ५० करोड, बैंक मौज्दात १ अर्व ६५ करोड, सडक बोर्ड नेपालबाट ३ करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।
त्यस्तै, अन्तरसरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्व १० करोड रुपैयाँ रहने प्रक्षेपण गरिएको छ । जसलाई अन्तर सरकारी अख्तियारी शीर्षकबाट नै खर्च तथा लेखाङ्कनको प्रबन्ध गरिने उप प्रमुख अधिकारीले बताए ।
चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकीमा रहेका र क्रमागत एवम् बहुवर्षीय ठेक्का भएका योजनाहरु समयमै सम्पन्न गर्नको लागि एकमुष्ट १ अर्व ६५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
वडास्तरबाटै सम्पन्न हुने योजनाका लागि प्रत्येक वडाका लागि २ करोड ७५ लाखका दरले एकमुष्ट ७९ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको अधिकारीले जानकारी दिए ।
शिक्षामा पढ्दै कमाउँदै र विद्यार्थीसँग मेयर कार्यक्रम र शिक्षा विकासको नीति कार्यान्वयनका लागि १३ करोड बजेट छुट्याइएको छ ।
व्यवस्थित ल्याण्डफिल साइड निर्माणको लागि महानगरले तीन करोड, केरुंगा र पुंगी खोलाले ओगटेको सार्वजनिक जग्गा संरक्षण एवम् पूर्वाधार निर्माण गर्न एक करोड ६५ लाख डिजिटल भरतपुर महानगर कार्यक्रम कार्यान्वयन गर्न तीन करोड बजेट विनियोजन भएको छ ।
पर्यटन वर्ष सन् २०२४ संघ र प्रदेश सरकारसँग मिलेर कार्यान्वयन गर्नको लागि २ करोड रुपैयाँ प्रस्ताव छुट्याइएको उपमेयरले जानकारी दिए । त्यस्तै रामपुरमा निर्माणाधिन अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि महानगरले तीन करोड विनियोजन गरेको छ ।
‘एक वडाः एक जेष्ठ नागरिक विश्रामस्थल’ कार्यक्रमलाई निरन्तरता दिँदै हरेक वडाहरुमा जेष्ठ नागरिक विश्रामस्थल निर्माण गर्नको लागि २ करोड विनियोजन गरिएको अधिकारीले बताए ।