काठमाडौं । सरकारले अफगानिस्तानबाट हालसम्म आठ सय ६० जनाको उद्दार गरिएको छ । उद्दार गरिएका सबै नेपाली स्वदेश आइसकेका छन् । परराष्ट्र मन्त्रालयले अफगानिस्तानबाट नेपालीलाई उद्दार गरि स्वदेश फर्काउने क्रम जारी रहेको जनाएको छ ।
काबुलमा उद्दार उडानको प्रतीक्षामा रहेकालाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको मन्त्रालयले बताएको छ ।
नेपाल फर्किएकालाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको छ । अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’ तथा विभाग, परराष्ट्र मन्त्रालय, मन्त्रालयको ‘सिचुएशन रुम’ र नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आफ्नो नामसहितको विवरण दर्ता गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।