काठमाडौं । न्युजिल्यान्डविरुद्धको दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशले चार रनको रोमाञ्चक विजय हासिल गरेको छ । घरेलु मैदान मिरपुरस्थित शेरे बंगला नेशनल रंगशालामा बंगलादेशले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो ।
बंगलादेशले ६ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । १ सय ४२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १ सय ३७ रनमात्र बनाउन सक्यो ।
बंगलादेशका मोहमुदुल्लाहबाहेक ओपनर मोहम्मद नाइमले उच्च स्कोर ३९ बनाए । यस्तै, लिटोन दासले ३३, विकेटकिपर नारुल हसनले १३ र साकिब अल हसनले १२ रन बनाए ।
न्युजिल्यान्डका रचिन रविन्द्रले तीन विकेट लिँदा अजिज पटेल, कोले म्याककोन्ची र हमिश बेन्नेटको नाममा एक-एक विकेट रह्यो ।
न्युजिल्यान्डका कप्तान टम लाथमले अविजित ६५ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । विल योङले २२, म्याककोन्चीले अविजित १५ र रविन्द्रले १० रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बंगलादेशका मेहदी हसन र साकिवले समान दुई विकेट लिए । नासुम अहमदले एक विकेट लिए । योसँगै ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा बंगलादेशले २-० को अग्रता लिएको छ ।