चितवन । पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेलको शवको आइतबार अन्त्यष्टी गरिएको छ । वैशाख १९ गते साँझ आफ्नै अफिसमा झुण्डिएको अवस्थामा फेला परेका कँडेलको शवको छ दिनपछि देवघाटमा अन्त्यष्टी गरिएको हो ।
शवको अन्त्यष्टी गर्नुअघि शवयात्रा निकालिएको थियो । भरतपुर महानगरपालिका–८ स्थित कँडेल निवासमा पुगेर नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल, कांग्रेस चितवनका सभापति राजेश्वर खनाल लगायतका नेताले कँडेलको पार्थिव शरिरलाई पार्टीको झण्डा ओढाएर सम्मान गरे ।
निवासबाट निकालिएको शवयात्रा मालपोत चोक–चौविसकोठी हुँदै नेपाली कांग्रेस चितवनको पाटी कार्यालय पुगेको थियो । पार्टी कार्यालयबाट देवघाटसम्म शवयात्रा निकालिएको थियो । नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल लगायत विभिन्न पार्टीका नेताहरु पनि देवघाट पुगेर स्वर्गीय कँडेलको पार्थिव शरिरमा फूल चढाएर सम्मान गरे ।
कँडेल चितवन काँग्रेसको पूर्व कोषाध्यक्ष र वर्तमान महासमिति सदस्य थिए । अनमोल फिड्सको ८५ प्रतिशत शेयर किनेका उद्योगी प्रदीप रुङ्गटा र अनमोलकै लेखा प्रमुख जीवन रावलले आफूलाई मर्न बाध्य पारेको कुरा कँडेलले सुसाइड नोटमा उल्लेख गरेका थिए । आत्महत्या दुरुत्साहन मुद्धामा रावल पक्राउ परिसकेका छन् भने रुङ्गटा अझै फरार छन् ।