काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली निवासमा सोमबार बसेको शीर्ष तीन दलका नेताहरूको बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि तत्काल सिफारिस र नियुक्ति गर्ने सहमति गरेको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सम्मिलित बैठकले प्रधानन्यायाधीशको नियुक्तिका लागि सहजीकरण गर्ने सहमति गरेका हुन् ।
१४ महिनादेखि नेतृत्वविहीन अवस्थामा रहेको न्यायपालिकाको प्रमुख अर्थात् प्रधानन्यायाधीश नियुक्ति गर्न संवैधानिक परिषद्को बैठक बोलाउने र नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरिएको छ । संवैधानिक परिषद्सम्बन्धी ऐन नभएको कारण परिषद्को बैठक बस्न नसकिएको भए पनि संवैधानिक व्यवस्था अनुसार सबै सदस्य उपस्थित भई संवैधानिक परिषद्को बैठक बस्ने र सो बैठकबाट सर्वसम्मतिका साथ प्रधानन्यायाधीशको नियुक्ति सिफारिस गर्ने तयारी गरिएको हो ।
सोमबार भएको छलफलमा सहभागी नेकपा एमालेका सचेतक महेश बर्तौलाका अनुसार ऐन नभए पनि ऐनभन्दा ठुलो संविधान भएकाले संवैधानिक व्यवस्था अनुसार संवैधानिक परिषद्को बैठक बसी सर्वसम्मतिबाट प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरिएको छ । संवैधानिक परिषद्मा सदस्य रहेका सबै राजनीतिक दल तथा व्यक्तित्वसँग सहमति गरेर प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने तयारी गरिएको उनको भनाई छ ।