चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन्।भरतपुर महानगरपालिकामा बिहीबार भएको भेटवार्तामा आपसीहित, दुई देशबीचको सम्बन्ध, भरतपुरसँग भगिनी सम्बन्ध भएका सहर, विकासमा भरतपुर र चीनबीच गर्न सकिने सहकार्यको बारेमा छलफल भएको थियो ।महानगरपालिका प्रमुख रेनु दाहालले मित्र राष्ट्र चीन र नेपालको दौत्य सम्बन्ध कायम भएसँगै चीनले नेपालको पूर्वाधार विकास शिक्षा, स्वास्थ्यका साथै आर्थिक सामाजिक क्षेत्रमा नेपाली जनताको मन जित्ने गरी सहयोग पुर्याएकोमा राजदूत चेनलाई धन्यवाद व्यक्त गरिन्।
महानगरपालिका प्रमुख दाहालले महानगरीय मेट्र रेल, नेपाल चाईनामैत्री पार्क निर्माण चीनको सहयोगमा निर्माणको लागि प्रस्ताव गरिन् ।उनले भरतपुरको विकासमा चिनियाँ प्राविधिक समूह उपलब्ध गराई नमुना महानगर निर्माणको लागि आह्वान गरिन् ।शिक्षा, स्वास्थ्य, पर्यटन र अन्य क्षेत्रमा चीनको आवश्यक स्रोत साधनको उपलब्धताले दीगो विकासमा सहयोग पुग्ने प्रमुख दाहालले बताइन् ।प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ मा चिनियाँ राजदूत चेनमार्फत चिनियाँ पर्यटकलाई निम्तो पनि दिइन् ।नेपालका लागि चिनियाँ राजदूत चेनले भरतपुरमा महानगरीय मेट्र रेल, नेपाल चीनमैत्री पार्र्क, शिक्षा, स्वास्थ्य लगायतका विषयमा छलफल गरी अगाडि बढ्न सकारात्मक रहेको उल्लेख गरिन्।
राजदूत चेनले भरतपुर भ्रमण वर्ष २०२४ मा चीनबाट बढीभन्दा बढी पर्यटक आउने वातावरण निर्माण गर्ने उल्लेख गरे । राजदूत चेनले भरतपुरमा भईरहको तीब्र विकास निर्माणबारे आफु जानकार रहेको बताउदै प्रमुख दाहालको प्रशंसा पनि गरे। ७ सदस्यीय टोलीसहित भरतपुर आईपग्नु भएको राजदूत चेनले भरतपुरको विकासको बारेमा स्थलगत अवलोकन गर्ने कार्यक्रम छ ।