चितवन। भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका ७ जोडीलाई सम्मान गरेको छ । बिहिबार एक कार्यक्रमका बीच भरतपुरमा भएको कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले संयुक्त रुपमा सम्मान गर्नुभयो ।
सम्मानित हुनेमा भरतपुर महानगरपालिका–९ का विमल दराई र सपना नेपाली, भरतपुर–११ का हरि प्रसाद पोखरेल र सीता परियार, सायुयल परियार र अर्पना तिवारी, मिरन सुनार र इन्द्रा भुजेलको जोडी रहेको छ । यस्तै भरतपुर १५ का राज दर्जी र सिम्रन चौरेल, भरतपुर २३ का ढक बहादुर नेपाली र सुशिला महतो, भरतपुर २५ का कमल बहादुर सुनार र कल्पना बस्नेतको जोडी रहेको छ । उनीहरूलाई महानगरले बिहीबार एक कार्यक्रमकाबीच एक जोडीलाई नगद रु एक–एक लाखसहित सम्मान गरेको हो ।
कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालले भरतपुर महानगरपालिकालाई सभ्य र सुसंस्कृत बनाउने उद्देश्यले यो अभियानको थालनी गरिएको बताउनुभयो ।जातीय विभेदलाई अन्त्य गराउन यस्ता कार्यक्रमलाई प्राथामिकतामा राखेको प्रमुख दाहालले उल्लेख गर्नुभयो । संविधानले जातीय विवेदलाई अपराधजन्य कार्य भनेर ठहर गरेपनि सोचे जति परिवर्तन हुन नसकेको धारणा राख्नुभयो ।
जनयुद्धको समयभन्दा अगाडि मान्छेले मान्छेलाई पशुजन्य व्यवहार गर्ने गरेको घटना स्मरण गर्दै प्रमुख दाहालले पहिलाकाके अवस्था निकै काहाली लाग्दो रहेको बताउनुभयो । जनयुद्धको जगमा पाएका अधिकारलाई कार्यान्वन गर्न निरन्तर खबरदारी र संर्घष जारी राख्नुपर्ने उहाँको भनाई थियो ।