चितवन । आगामी १० वैशाखमा हुने उपनिर्वाचनको सोमबार मनोनयन दर्ताको समय तोकिएको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो ।
जसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ । चितवन–२ कांग्रेसका जितनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन् ।
सत्तारुढ गठनबन्धनको समर्थनमा उम्मेदवारी दिएका श्रेष्ठको प्रस्तावकमा कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल र समर्थकमा माओवादी जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी छन् ।
उम्मेदवारी दर्ताअघि आयोजित सभालाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘जितनारायण श्रेष्ठ संसदमा पुगेन, संसदमा पुगोस् भन्न चाहनाले उपचुनाव हुँदैछ भन्ने लाग्यो ।’
त्यसअनुसार आफूले टिकट पाएको र सत्ता गठबन्धनको पनि साथ पाएको श्रेष्ठले सुनाए । आफ्ना प्रतिस्पर्धी लामिछानेतर्फ संकेत गर्दै उनले केही मान्छेले चितवनलाई उपनिर्वाचनको प्रयोगशाला बनाउन चाहेको बताए । उनले अघि भने, ‘तर चितवनका जनताले राम्रोसँग बुझेका छन्, चितवन प्रयोगशाला होइन ।’
चितवन पर्यटकीय नगरी भएको भन्दै उनले एक पटक आउनेलाई स्वागत गर्ने बताए । उनले अघि भने, ‘स्वागत गरेको कुरालाई भ्रम सम्झेर जुन होटलमा बस्यो, त्यही होटल मेरो हो भन्न थाल्यो भने चितवनका जनताले फिर्ता पठाउन जानेका छन् ।’