चितवन। चितवन उद्योग संघको आयोजनामा डोल्पाका उद्योगीहरु र चितवनका उद्योगीहरुबीच औद्योगिक प्रबद्र्धनका विषयमा छलफल भएको छ ।
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षमा सम्पन्न छलफल कार्यक्रममा डोल्पा र चितवनका उद्योगीहरुले आ–आफ्ना क्षेत्रमा सञ्चलानमा आएका उद्योगहरुको प्रकृति, उद्योगहरुबाट उत्पादित वस्तुको बजारको अवस्था र दुबै क्षेत्रका उद्योगीहरुबाट एकआपसमा हुने सहकार्यका विषयमा वृहत रुपमा छलफल भएको थियो ।
छलफलका क्रममा दुबै क्षेत्रका उद्योगीहरुबीच औद्योगिक ज्ञानको अनुभव सहित आ–आफ्ना उत्पादनहरुलाई बजारीकरण गर्ने विषयमा समेत छलफल गरिएको थियो ।
कार्यक्रममा संविधानसभा सदस्य २०६४ डोल्पाकी माननीय दुध कुमारी हमाल, जिल्ला समन्वय समिति डोल्पाका श्याम बहादुर रोकाया, ठूली भेरी नगरपालिकाका वडा अध्यक्ष भक्त बहादुर भण्डारी, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय डोल्पाका नायव सुब्बा ध्रुब कुमार बाँठा मगर, चितवन उद्योग संघका उपाध्यक्षहरु मदन घिमिरे, मदन चिरञ्जीवी पोखरेल, कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, कार्यसमिति सदस्य चन्दना कोइराला लगायतको उपस्थिति रहेको थियो ।
औद्योगिक अवलोकन भ्रमणका क्रममा चितवन आईपुगेको टोलीले कालिका नगरपालिका क्षेत्रमा रहेको बि.एम.हस्तकला प्रशिक्षण उद्योग, वसन्त प्रकाश कृषि फर्म लगायतका उद्योगहरुको अवलोकन समेत गरेका थिए ।