काठमाडौं । बिहीवार पछिल्लो २४ घण्टामा थप २ हजार ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १ हजार ६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी कुल २ हजार ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
त्यस्तै सोही अवधिमा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बिहीवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १६ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ७८६ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ९४६ पुगेको छ । यसैगरी, बिहीवार १ हजार ८४६ जना निको भएसँगै हालसम्म ७ लाख २१ हजार १८२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।