चितवन। नेपाल पत्रकार महासङ्घ चितवन शाखाले ६ दिनका अवधिमा तीन भ्रमणसँगै विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । महासङ्घका सदस्यका लागि काठमाडौँ, पोखरा र गोरखा भ्रमणसँगसँगै अन्तरक्रिया कार्यक्रम आयोजना गरिइएका थिए ।
महासङ्घले यही फागुन १८ र १९ गते काठमाडौँ र धुलिखेलमा युवा पत्रकार र फागुन १९ र २० गते महिला पत्रकारका लागि पोखरा र कास्कीको धम्पुसमा भ्रमणसँगै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
यसैगरी जिल्लाका अग्रज पत्रकारका लागि गोरखाको बारपाक, भच्चेक र लिगलिगकोट लगायतका क्षेत्रमा भ्रमण एवं अन्तरक्रिया आयोजना गरिइएका थिए । युवा पत्रकारको संयोजन गर्नुभएका महासङ्घका सचिव दीपेन्द्र अधिकारीका अनुसार काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी सहितका उपस्थितिमा महानगरपालिकामा विकास र सञ्चारसम्बन्धी अन्तरक्रिया गरिएको हो । सोही टोलीले धुलिखेलमा पत्रकार आचारसंहितासम्बन्धी अन्तरक्रिया आयोजना गरेको थियो ।
प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, गोरखापत्र संस्थानका महाप्रबन्धक लाल ऐरी, महासङ्घ काभ्रे शाखा अध्यक्ष बद्री तिमिल्सिनाको उपस्थितिमा चितवन र काभ्रेका पत्रकारसँग अन्तरक्रिया गरिएको थियो । सचिव अधिकारीका अनुसार पत्रकारको टोलीले राष्ट्रिय समाचार समिति, रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र संस्थान, नागरिक दैनिकको कार्यालय अवलोकन गरी प्रकाशन र प्रसारण प्रक्रियाका बारेमा जानकारी लिएको थियो । टोलीमा ३२ क्रियाशील पत्रकार सहभागी हुनुहुन्थ्यो ।
पत्रकार महिलाको भ्रमण संयोजक महासङ्घका उपाध्यक्ष प्रमिता ढकालका अनुसार टोलीले पोखरा महानगरपालिकाको अवलोकन र अध्ययन गरेको थियो । महासङ्घको कास्कीको आतिथ्यतामा प्रविधिमैत्री सञ्चारमा महिलाको भूमिका विषयक कार्यक्रममा सहभागी भएको थियो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री हरिबहादुर चुमानको उपस्थितिमा महासङ्घका कास्की शाखा अध्यक्ष विमला भण्डारी, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती लगायतको उपस्थितिमा कार्यक्रम भएको हो ।
महासङ्घको महिला टोलीले माछापुच्छे गाउँपालिकाका जनप्रतिनिधिसँग पर्यटनसम्बन्धी अन्तरक्रियासमेत सम्पन्न गरेको उपाध्यक्ष ढकालले जानकारी दिनुभयो । यससँगै कास्की जिल्लाका पर्यटकीय गन्तव्यहरुमा महासङ्घको टोलीले अध्ययन अवलोकन गरेको छ । टोलीमा २९ पत्रकार महिला सहभागी हुनुहुन्थ्यो ।
अग्रज पत्रकारको संयोजन गर्नुभएका महासङ्घका उपाध्यक्ष प्रकाशमणि ज्ञवालीका अनुसार यही फागुनको २२ र २३ गते गोरखाका विभिन्न पर्यटकीय गन्तव्यहरुको अवलोकन र अन्तरक्रिया गरिएको छ । टोलीले २०७२ सालको भूकम्पको केन्द्रविन्दु बारपाकमा विपत्सम्बन्धी अन्तरक्रिया गरेको छ । भरतपुर महानगरपालिकाको आयोजना र महासङ्घको संयोजनमा भएको कार्यक्रममा अग्रज पत्रकार दीपक आचार्यले विपत्बाट जोगिने उपायका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा स्थाानीय पर्यटन व्यवसायी जीतबहादुर घलेले भूकम्पले पारेको असर र पर्यटन सम्बन्धमा प्रकाश पार्नुभएको थियो ।
सुलिकोट बारपाक गाउँपालिकासँग त्यहाँको पर्यटनसम्बन्धी अन्तरक्रियासमेत गरिएको छ । पालिकाको कार्यालयमा आयोजित अन्तरक्रियामा सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु भट्टले पर्यटकीय, ऐतिहासिकसँगै विकासका बारेमा जानकारी गराउनु भएको थियो । टोलीले अजिरकोट गाउँपालिकाको भच्चेकमा पर्यटकीय गतिविधिबारे अन्तरक्रिया गरेको थियो । पालिका अध्यक्ष दीपक देवकोटाले त्यहाँको पर्यटकीय महत्व र पालिकाले गरेका कार्यबारे प्रकाश पार्नुभएको थियो । यससँगै लिगलिगकोटको अध्ययन कार्यक्रम गरेको उपाध्यक्ष ज्ञवालीले जानकारी दिनुभयो ।
गोरखाको अध्ययन कार्यक्रममा महासङ्घ गोरखाका अध्यक्ष नरहरि सापकोटाले सहजीकरण गर्नुभएको थियो । भ्रमणमा महासङ्घ चितवनका पूर्वअध्यक्षहरुसहित अग्रज पत्रकारहरुको उपस्थिति रहेको थियो ।
महासङ्घ चितवनका अध्यक्ष नारायण अधिकारीले भरतपुर महानगरपालिकासँग सहकार्य गरेर कार्यक्रम गरिएको बताउनुभयो । सो क्रममा काठमाडौँ महानगरपालिका, पोखरा महानगरपालिका, कास्कीको माछापुच्छे«े गाउँपालिका, गोरखाको सुलिकोट बारपाक गाउँपालिका, अजिरकोट गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाले सहजीकरण गरेको उहाँले जानकारी दिनुभयो ।
महासङ्घ केन्द्रिय समिति, काभ्रे शाखा, कास्की शाखा र गोरखा शाखाले पनि यो अध्ययन अवलोकन कार्यक्रममा सहकार्य गरेको अधिकारीले बताउनुभयो । शाखाका सबै सदस्यका लागि पहिलो पटक यस किसिमको कार्यक्रम गरिएको हो । यसले पत्रकारहरुलाई क्षमता अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको अधिकारीको भनाइ छ ।