चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा केही अधुरा र रोकिएको कामले पूर्णता पाउने बताउनु भएको छ ।सकृय जेष्ठ नागरिक कल्याण समाज भरतपुर–२६ को छैठौ साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले रोकिएको कामलाई गति दिने गरी पहल भईरहेको उल्लेख गर्नुभयो ।
मेयर दाहालले भरतपुर विमानस्थलको विस्तार, गौतम बुद्ध क्रिकेट रंगशाला, मेघौली विमानस्थलको स्तरोन्नतीलगायतको काम अब केही समयपछि सुरु हुने औल्याउनुभयो ।यसका लागि प्रधानमन्त्री कार्यालयबाट मन्त्रीपरिषदमा यी विषयहरुलाई लैजाने तयारी भईरहेको जानकारी दिनुभयो ।
भरतपुरमा पहिलो चरणको स्मार्ट लाईट जडानको काम सम्पन्न भईसकेको र दोस्रो चरणमा करिब १ सय ५० किमीको लागि केही दिनमा बोलपत्र आह्वान हुन लागेको पनि उहाँले जानकारी दिनुभयो । यी लाईटहरु जडान भएसँगै भरतपुरका मुख्य सडकहरुमा स्मार्ट लाईट लडानको कार्य सकिने उहाँको भनाई थियो ।
भरतपुरमा अहिले एक वडा एक पार्क, एक विद्यालय एक खेल मैदान, एक वडा एक जेष्ठ नागरिक भवन, एक वडा एक खेल मैदान लगायतका समानुपातिक र सन्तुलित विकासको काम अगाडि बढाइएको उहाँको भनाई थियो ।भरतपुरलाई सुखी, खुसी र समृद्ध सहर बनाउने गरी जेष्ठ नागरिकलाई मध्यनगर राख्दै विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेको पनि उल्लेख गर्नुभयो ।मेयर दाहालले जनताबाट प्राप्त हौसलाका कारण भरतपुरको विकासमा अहोरात्र खटिरहेको दाबी गर्नुभयो ।
भरतपुरमा विगत ५ वर्षमा भएको कामकै कारण दोस्रो पटक जनताले ठूलो आश र भरोसाका साथ निर्वाचित गरेकाले जनताको भावना अनुसार नै काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।कार्यक्रममा वडा नम्बर २६ का अध्यक्ष ज्ञानप्रसाद खनाल, समाजसेवी चित्रलाल शेरचन लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाको भवन निमार्ण गर्न सहयोग पुराउने दानवीरलाई सम्मान गरिएको थियो ।