चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका–९ लालपर्सा नजिकै गैंडाको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि ठाउँका करिब ६० वर्षीय चन्द्र बहादुर तामाङ रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
आज बिहान करिब ५ः४५ बजेको समयमा मर्निङ वाकमा निस्किएका तामाङलाई गैंडाले आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । ‘मिलिजुली सामुदायिक बन क्षेत्र अन्तर्गतपर्ने मोहना चोक देखि लालपर्सा जाने बाटोको बिच कल्भर्ट छेउमा भएको घटना हो । त्यो गैैडा आइरहने ठाउँ हो । मर्निङ वाकमा निस्किएका बेला गैंडासँग जम्काभेट हुँदा मृत्यु भएको हुन सक्ने प्रारम्भिक जानकारी आएको छ’, उनले भने । मृतकको शवलाई पोष्टमार्टमको लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।
चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट जिल्लामा पाँच जनाले ज्यान गुमाएका छन् ।