मोरङ। सवारी दुर्घटनामा परी नेपाल खेलकुद महासङ्घको दोस्रो महाधिवेशनका प्रतिनिधिको मृत्यु भएको छ । विराटनगर महानगरपालिका ५ बरगाछी अगाडि अर्घाखाँचीका प्रकाश महतको मृत्यु भएको हो ।आइतबार रातिदेखि चलेको बन्दसत्र स्थगित भएपछि होटेल फर्कनेक्रममा राति साढे ११ बजे दुर्घटनामा परी महतको मृत्यु भएको हो ।
अर्घाखाँची सन्धिखर्क नगरपालिका ५ घर भएका २६ वर्षीय महत लु १८ प ५४५६ नम्बरको मोटरसाइकलमा सवार थिए । बन्दशत्र भएको होटेल मनासलुबाट निस्किएपछि विराटनगर–इटहरी सडक खण्ड अन्तर्गत दक्षिणबाट उत्तरतर्फ जाँदैगरेको प्रदेश १– ०२०४२ प ६०४९ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए । दुर्घटनामा परी घाइते भएका महतको विराटनगरस्थित नोबेल मेडिकल कलेज लग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक ४८ वर्षीय विष्णु परियार गम्भीर घाइते भएका छन् । उनको उपचार नोबेलमा भइरहेको छ । रातिको समयमा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएको कारणले दुर्घटना भएको प्रहरीले जनाएको छ ।
‘मापसे सेवन गरेर प्रदेश १ –०२०४२ प ६०४९ नम्बरको मोटरसाइकल सवार चालकले मापसे सेवन गरेर तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना भएको मोरङ ट्राफिक प्रमुख कार्कीले बताए । ठक्कर दिने चालक विराटनगरका स्वयम अन्सारी फरार रहेको र उनको खोजी भइरहेको मोरङ प्रहरीले जनाएको छ ।