चितवन । बूढी राप्तीमा निर्माण गरिएको दुई वटा पुलको आयव्यय सार्वजनिक गरिएको छ । करिब ४ लाख ७६ हजार रूपैयाँ लागतमा निर्माण सम्पन्न भएको पुलको आयव्यय बुधबार सार्वजनिक गरिएको हो।
पुल निर्माण उपभोक्ता समितका संयोजक मीनबहादुर लामाका अनुसार पुल निर्माणको लागि रत्ननगर नगरपालिका वडा न ८ बाट तीन लाख र वडा न ७ बाट एक लाख रूपैयाँ बजेट विनियोजन भएको थियो। यस्तै रत्ननगर नगरपालिकाबाट समेत ७६ हजार रूपैयाँ बजेट पाएपछि निर्माण सम्पन्न गरेको संयोजक लामाले जानकारी दिए।
वडा नं ८ मा पर्ने दोभानमा निर्मित पुलले वारि बाघमारा र पारि बाघमाराका साथै सुकुमबासी बस्तीलाई आउन जान सहज हुने पुल निर्माण समितिका सचिव मथुरा चौधरीले जानकारी दिए। डुङ्गाघाटको पुलले भने चित्रसारी, गोठौली र सिसुवार क्षेत्रका स्थानीयलाई यातायातमा सहज हुने उनले बताए।
खोलाको वारिपारि बस्ती भए पनि लामो बाटो घुमेर जाुनपर्ने बाध्यताको अन्त्य गराउनका लागि नगर र वडा तहबाटै बजेट व्यवस्थापन गरेर दुई वटा पुल निर्माण गरिएको वडा नं. ७ का अध्यक्ष सजना महतोले जानकारी दिए। स्थानीयको माग र उनीहरूको सहजताको लागि आवश्यक काम गरिएको उनको भनाइ छ।