चितवन । भरतपुर महानगरपालिकाको १२ औँ नगर सभा पूरक बजेट र विभिन्न ऐनहरु अनुमोदन गर्दै सम्पन्न भएको छ । आज बीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको अडेटेरियम हलमा भएको नगर सभाले महानगरको विकासका कामलाई तीब्रता दिदै आर्थिक गतिविधिलाई चलयमान बनाउने गरी भएका निर्णयहरुलाई सर्वसम्मत अनुमोदन गरेको हो ।
भरतपुर महानगरपालिकाले शिक्षा ऐन, २०७५ (तेस्रो संशोधन) र भरतपुर महानगरपालिका सहकारी ऐन, २०७५ (तेस्रो संशोधन) लाई सर्वसम्मत रुपमा अनुमोदन गरेको छ । यस्तै मेलमिलापकर्ताहरुको सूचीकरण गर्ने प्रस्ताव पनि सर्वसम्मत अनुमोदन भएको छ । नगरसभालाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुरको विकासको लागि पार्टीभन्दा माथि उठेर विगतको कार्यकालमा काम गरेको र यो कार्यकालमा पनि निश्पक्ष रुपमा काम गर्ने बताउनुभयो ।
मेयर दाहालले भरतपुरको समृद्धिको लागि कुनै पनि योजनालाई अगाडि बढाउन तयार रहेको प्रष्ट पार्नुभयो । भरतपुरमा भईरहेको सन्तुलित विकासलाई निरन्रता दिन अहोरात्रा खट्ने गरेको उहाँको भनाई थियो । भरतपुरलाई एउटा उचाईसम्म पुराएर यो अन्तिम कार्यकाल पुरा गर्ने उद्देश्यका साथ दीर्घकालिन महत्वका विकासका पूर्वाधारलाई प्राथामिकतामा परेको उहाँले बताउनुभयो ।
मेयर दाहालले करको दर नभई करको दायारा फराकिलो बनाई भरतपुरको आन्तरिक आम्दानीलाई बलियो बनाउन सबै जनप्रतिनिधिहरुले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।