चितवन । भरतपुर महानगरपालिकाले १०२ जना नयाँ मेलमिलापकर्तालाई तालिमद्वारा दीक्षित गराएको छ । दुई चरणमा गरी उनीहरुलाई दीक्षित गरिएको हो ।
न्याय सम्पादनमा एकरुपता ल्याउने उद्देश्यले भरतपुर महानगरपालिकाले प्रथम चरणको तालिम माघ ९ गतेदेखि १६ गतेसम्म र दोस्रो चरणको तालिम १७ गतेदेखि २४ गतेसम्म दिएको थियो । भरतपुर महानगरपालिकाले २९ वटै वडाबाट छनौट भई आएका नयाँ मेलमिलापकर्तालाई तालिम दिएको हो ।
महानगरपालिकाले सुशासन तथा विकास प्रतिष्ठान काठमाडौँको प्राविधिक सहयोगमा दुई चरणमा गरी माघ ९ गतेदेखि २४ गतेसम्म १६ दिवसीय आधारभूत तालिमको आयोजना गरेको थियोे ।
तालिम समापन कार्यक्रममा बोल्दै महानगर उपप्रमुख चित्रसेन अधिकारीले अन्यायमा परेका सबै नागरिकले न्याय पाउने गरी १०२ जनालाई तालिमबाट दीक्षित गराइएको बताए । न्यायसम्पादनको क्षेत्रमा उदाहरणीय काम गर्ने उद्देश्यका साथ भरतपुर महानगरपालिकाले नयाँ मेलमिलापकर्तालाई आधारभूत तालिम प्रदान गरेको उपप्रमुखको भनाइ छ ।
उपप्रमुख अधिकारीले न्यायको क्षेत्रमा भरतपुर महानगरपालिका अगाडि बढिसकेको उल्लेख गरे । ‘न्यायका हरेक गतिविधिमा अब जनतासँग भरतपुर महानगरपालिका प्रत्यक्ष सहयोगीको रुपमा रहने छ’, न्यायिक समितिका सयोजकसमेत रहेका उपप्रमुख अधिकारीले भने, ‘न्याय नपाएर अब कोही पनि अन्यायमा पर्ने छैन । न्यायको अनुभूति सबै नागरिकले पाउने गरी महानगरले काम गरिरहेको छ ।’
उनले देशका ७५३ स्थानीय सरकारमध्येमा भरतपुर महानगरपालिकालाई उत्कृष्ट बनाउने गरी तालिमको आयोजना गरिएको उल्लेख गरे ।
सो तालिमपश्चात् मेलमिलापकर्ताको माध्यमबाट अब भरतपुर महानगरबासी आमनागरिकले न्याय पाउनेमा विश्वस्त रहेको उनले बताए । विवादरहित समाजको निर्माण गर्न तालिम कोशेढुङ्गा साबित हुने उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश रितेन्द्र थापाले अदालतले गर्नुपर्ने काम महानगरपालिकाले गरेकोमा खुशी व्यक्त गरे ।
यस्तै भरतपुर महानगरका कानुनी सल्लाहकार गोपिलाल देवकोटाले ससाना मुद्दाहरुलाई तल्लो तहबाटै समाधान गर्ने काम मेलमिलाप समितिमार्फत हुने हुँदा यस्तो खालको तालिम आयोजना गरिएको प्रष्ट पारे । उनले मध्यस्तकर्ताको रुपमा मेलमिलाप समितिले काम गर्ने तथा न्यायसम्पादन गर्ने सवालमा मेलमिलापकर्ताको महत्त्वपूर्ण भूमिका रहने बताए ।
सुशासन तथा विकास प्रतिष्ठान काठमाडौका प्रमुख महेन्द्र लम्सालले मेलमिलापको माध्यमबाट स्थानीयस्तरमा हुने गरेका विवादहरुलाई न्यायिक निरुपण गर्न यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
२९ वडा कार्यालयबाट सिफारिस भई आएका नयाँ मेलमिलापकर्तालाई दुई चरणमा विभाजन गरी तालिमद्वारा दीक्षित गरिएको कानुनी मामिला शाखाका कृष्णप्रसाद सापकोटाले जानकारी दिए । समाजमा हुने गरेका हरेक घटनालाई मेलमिलाप पद्धतिबाट न्यायिक निरुपण गर्नुपर्ने भएकोले तालिम आयोजना गरिएको भरतपुर महानगरपालिकाले जनाएको छ ।
तालिममा बन्धुराज पौडेल र कविता अधिकारीले प्रशिक्षण दिएका थिए । यसअघि महानगरले २९ वटै वडामा स्थलगत अनुगमन तथा मेलमिलापकर्तालाई निर्देशन एवं मेलमिलापकर्ताको विवरण अद्यावधिक गरेको थियोे ।
तालिम अवधिभर भरतपुर महानगरपालिकाको कार्यपालिका सदस्य विष्णुबहादुर भुजेल, शारदा पोख्रेल, कानुनी सल्लाहकार गोपिलाल देवकोटा, महानगरस्तरीय केन्द्रीय मेलमिलाप संयोजक मुक्तिनाथ अधिकारी, उपप्रमुख सचिवालय सदस्य आशिष अधिकारी, कानुनी मामिला शाखाका कर्मचारी कृष्णप्रसाद सापकोटा, जेनि महतोलगायतको उपस्थित रहेको थियो ।