तनहुँ। केही समयअघि अमेरिकी फोटोग्राफर केतिया पावालोब्स्कीले खिचेको भनिएको हिउँ चितुवाको फोटो सामाजिक सञ्जालमा ‘भाइरल’ बन्यो। फोटो सार्वजनिक हुनासाथ केहीले नेपाली फोटोग्राफरको क्षमतामाथि प्रश्न उठाउन थाले भने कतिले हिउँ चितुवाको फोटो पहिलो र सुन्दर फोटो खिच्ने नेपाली फोटोग्राफर नै भएको तथ्य पेश गरे। र, त्यो तथ्य पेश गर्दा आएको नाम थियो, नेपाली फोटोग्राफर टासी आर घले।
उनी र चुङ्वा शेर्पाले धेरै पहिला नै मनाङको ४६ सय मिटर उचाइमा हिउँ चितुवाको फोटो खिचेको तथ्य बाहिर आयो। उनले त्यो फोटो १६ दिन लगाएर खिचेका थिए। उनै टासी आर घले शुक्रबार तनहुँको तनहुँसुरमा सम्मानित भएका छन्। फोटोग्राफरहरुको संस्था गण्डकी फोटोग्राफर संघले वाइल्डलाइफ फोटोग्राफीमा टासीले पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो।
संस्थाका अध्यक्ष दुर्गाप्रसाद पौडेलले टासीलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरेको जानकारी दिए।
सम्मान ग्रहणपछि टासीले दुर्लभ वन्यजन्तु त्यसमाथि पनि अत्यन्त कठिन हिमाली क्षेत्रमा रहने हिउँ चितुवाको तस्बिर खिच्न फोटोग्राफरका नाताले गरेका संघर्ष र उपलब्धीको बेलिविस्तार लगाएका थिए।
संस्थाका सचिव तुलसीराम सुबेदीका अनुसार सो अवसरमा फोटो पत्रकारिता तालिम पनि सञ्चालन गरिएको थियो।