काठमाडौँ। जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले मधेशी र थारुलाई राज्यबाटै बहिस्कार गर्दै ‘नश्लवादीहरूको झुण्ड’ अगाडि बढेको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमार्फत राउतले मधेशवादी दलहरूको सबैको नाम उल्लेख गर्दै शासकवर्गले ‘बूलडोज’ गरेको टिप्पणी गरेका हुन्।
‘कुरा केवल जनमत पार्टीको होइन, जसपा/लोसपा/जनमत/नाउपा सबैलाई पाखा लगाउँदै, शासकवर्गले बूलडोज गरेको हो’, राउतले भनेका छन्, ‘चरम नश्लवादीहरूको झुण्ड पूरै मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गर्दै, ‘यो देश तिम्रो होइन’ भन्दै, अधिकार खोस्दै, दमन शोषण गर्न अगाडि बढे़का हुन्।’
मधेशले यसको प्रतिकार गर्ने उनले उल्लेख गरेका छन्।
सत्ता साझेदार दलमै रहेको जनमत पार्टीले मन्त्रालयमा चित्त नबुझेको भन्दै सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ। उसले मागेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नदिएर खानेपानी मन्त्रालयमा मिल्काइएको आरोप लगाएको छ।
त्यस्तै, प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको जनता समाजवादी पार्टीपनि गठबन्धनबाट बाहिरिने निर्णय गरिसकेको छ।
जेलमा रहेका रेशम चौधरीको रिहा नभएसम्म सरकारमा सहभागी नहुने अडान लिएको नागरिक उन्मुक्ति पार्टीले के गर्छ निश्चित छैन।