चितवन। चितवन उद्योग संघको आयोजनामा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र उद्योगीहरुबीच परिचयात्मक एवम् औद्योगिक प्रबर्धन का विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ।
साे अवसरमा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले बर्तमान समयमा उद्योगीहरु अत्यन्तै ठूलो समस्यामा रहेको बताउनुभयाे। कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले उद्योग र उद्योगहरुले उत्पादन गर्ने वस्तुहरुको कारण देशको आर्थिक अर्थतन्त्रमा प्रभाव पार्ने हुँदा उद्योगहरुको समस्याहरुको बारेमा सबै क्षेत्रबाट सहयोग हुनु पर्ने बताउनुभयो । उहाँले महानगरको बार्षिक योजनाहरुमा परेका उद्योगसँग सम्बन्धित विषयहरुमा महानगरको तर्फबाट समन्वय गरी अगाडि बढ्ने समेत बताउनुभयो ।
संघका उपाध्यक्ष एवम् नीति निर्माण समन्वय तथा उद्यमी पाठशाला सञ्चालन विभागका संयोजक युगराज वस्तीले संघको अभियान र भरतपुर महानगर पालिकासँगको सहकार्यका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । प्रस्तुतिकरण पछि उद्योगीहरुबीच औद्योगिक प्रबद्र्धनका विषयमा आएका समस्या र त्यसका निराकरणका विषयमा छलफल समेत गरिएको थियो ।
कार्यक्रममा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल, चितवन उद्योग संघका पूर्व अध्यक्षहरु भेषराज दुवाडी, कृष्ण प्रसाद अधिकारी, कार्यसमिति सदस्यहरु दण्डपाणी भट्ट, चन्दना कोइराला, महिला उद्यमी मञ्चकी सदस्य अम्बिका धिताल, संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट, प्रदर्शनी अधिकृत दिपक दुवाडी, पाठशाला अधिकृत यमकला आचार्य, कार्यालय सहायक प्रेमकला भुजेल लगायतको उपस्थिति रहेको थियो ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई संघका उपाध्यक्ष एवम् आर्थिक योजना तथा निर्माण विभागका संयोजक मदन घिमिरेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।