चितवन । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चितवन महोत्सवको अनुगमन गर्नुभएको छ । मन्त्री श्रेष्ठले आज दिउँसो चितवन महोत्सवको परिसरमा रहेको मेड इन नेपाल परिसर र कृषि प्रदर्शनी अवलोकन गर्नुभएको हो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले मन्त्री श्रेष्ठलाई महोत्सवमा राखिएका स्टलबारे जानकारी गराउनुभएको थियो । उहाँले नेपालमा उत्पादन भएका विभिन्न उत्पादन एवं कृषि उत्पादनबारे उपप्रधानमन्त्री श्रेष्ठलाई जानकारी गराउनुभयो ।
नारायणी नदी किनारमा सञ्चालित १४औँ संस्करणको चितवन महोत्सव अवलोकन पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले यस महोत्सव निकै नै उत्साहप्रद देखिएको बताउनुभयो । विशेषतः कृषकहरुलाई प्रदर्शनीमा सहभागी गराउँदै पुरस्कार प्रदान गरिनु कृषकको सम्मान भएको मन्त्री श्रेष्ठले बताउनुभयो । जतिसुकै आत्मनिर्भरको कुरा गरे पनि स्थानीय उत्पादनलाई प्राथमिकता नदिएसम्म आत्मनिर्भर हुन नसकिने उहाँले बताउनुभयो ।
पुस २५ देखि सञ्चालन भएको १४औँ संस्करणको चितवन महोत्सव माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सव प्रवद्र्धन समितिका संयोजक राजेन्द्र ओलीले बताउनुभयो । महोत्सव अन्तर्गत कृषि, साहित्य तथा पर्यटन सम्बन्धी गोष्ठी तथा सेमिनार आयोजना गरिएको भन्दै ओलीले यसपटकको महोत्सवले तोरी उत्पादन र मौरीपालनलाई प्राथमिकता दिएको बताउनुभयो ।
महोत्सवमा विभिन्न प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । ४५० वटा स्टल रहेका महोत्सव पाँच लाख दर्शकले अवलोकन तथा २५ करोड रुपैयाँको कारोबार हुने आयोजकको अपेक्षा रहेको छ ।