काठमाडाैं। देशभरी पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव कायमै रहेकाले आज पनि तराईका जिल्लामा बाक्लो हुस्सु कुहिरो लाग्ने र पहाडको उच्च भूभागमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । चिसो बढ्नेक्रम जारी रहेकाले जनजीवन प्रभावित हुनेछ । चिसोबाट बच्न सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
तराईमा लाग्ने बाक्लो कुहिरोका कारण चिसो बढेसँगै हवाई उडान पनि प्रभावित हुनेछन् । कुहिरोका कारण भिजिविलिटी नहुने भएपछि हवाई उडान प्रभावित हुनसक्ने विभागले जनाएको छ । त्यस्तै, विभागले चिसोबाट जोगिन न्यानो हुने उपाय अवलम्बन गर्न सुझाएको छ ।
आज सोमबार सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । सो प्रदेशका उच्च पहाडी भूभागको एक दुई ठाउँमा हल्का हिमपात हुने विभागले जनाएको छ । बाँकी भूभागमा मौसम सफा रहने छ ।
सोहीअनुसार भोलि मंगलबार पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भुभागमा सामान्यतः मौसम सफा रहनेछ । उच्च पहाडी भूभाग तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । त्यस्तै, पुस २७ गते बुधबार सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका केही भुभागमा आंशिकदेखि सामान्य बदली रहने छ । सोही राति सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी भूभागका धेरै ठाउँमा हिमपात हुने विभागले जनाएको छ ।