चितवन । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा १४औँ चितवन महोत्सव आजदेखि नारायणनी नदी किनारमा सुरु हुँदै छ । महोत्सवको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
यस पटक महोत्सव उद्घाटन अघि शोभा यात्रा ननिकालिने महोत्सव मूल आयोजक समिति संयोजक एवं उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बताए । महोत्सव आगामी माघ ४ गतेसम्म चल्ने छ ।
विसं २०५३ देखि हरेक दुई वर्षमा महोत्सव हुँदै आइरहेको छ । महोत्सवमा रहने सम्पूर्ण स्टल बिक्री भइसकेको श्रेष्ठले जानकारी दिए । यसपटकको महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आईटीका छुट्टैछुट्टै परिसर रहने श्रेष्ठले बताए । विशेषगरी चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्नका लागि यसपटक तोरी र मौरीलाई प्रवद्र्धन गर्नेगरी तोरीबारी सहित मौरीको मस्कट महोत्सवभित्र राखिने श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा बगैँचा, कृषि परिसर, पोल्ट्री परिसर, बाल उद्यान, गार्मेन्ट सामग्रीसहितका कक्ष रहेका छन् । नेपालमा उत्पादन भएका सामग्रीलाई प्राथमिकताका साथ राखेर तिनीहरुको प्रवद्र्धन र विकासमा १४औँ संस्करणको चितवन महोत्सव अगाडि बढेको अध्यक्ष श्रेष्ठले बताए । दश दिनसम्म चल्ने महोत्सवमा खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको वेषभूषा र कला संस्कृति झल्किने मनोरञ्जनात्मक कार्यक्रम, कृषिउपज प्रदर्शनी र बाल उद्यान राखिएका छन् ।
महोत्सव अन्तर्गत नै पुस २८ देखि माघ २ गतेसम्म नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिभलको आयोजना गरिएको छ । चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रही पुस २९ देखि माघ ३ गतेसम्म विज्ञहरुको उपस्थितिमा दैनिक राष्ट्रिय स्तरका सेमिनार तथा गोष्ठीहरु सञ्चालन गरिनेछ ।