चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं १ कोलभन्ञ्याङका सीमान्तकृत चेपाङ समुदायलाई सुधारिएको चुलो वितरण गरिएको छ ।
सपना भिलेज सोसल इम्प्याक्टले सो ठाँउका ६५ परिवारलाई सुधारिएको चुल्हो वितरण गरेको हो । इम्प्याक्टका अध्यक्ष ध्रुव गिरी सहित संस्थाका कर्मचारीहरुले चेपाङ समुदायका घरघरमै पुगेर चुलो हस्तान्तरण गरेका छन् । चेपाङ समुदायका महिलाहरुको स्वास्थ्य सुरक्षाका लागि आधुनीक चुलो प्रदान गरिएको इम्प्याक्टका अध्यक्ष गिरीले जानकारी दिए ।
चेपाङ समुदाय संग एलपी ग्यास किन्न सक्ने क्षमता छैन् उनले भने, ‘दाउरा बाल्दा निस्कने धुवाले महिलाहरुको स्वास्थ्य खराब गरेको पाइएपछि धुवा नआउने सुधारिएको चुलो वितरण गरिएका हौं ।’
इम्प्याक्टले सुधारिएको चुलोसंगै ४० जना बालवालिकालाई जाडोमा लगाउने न्यानो कपडा समेत वितरण गरेको छ । इम्प्याक्टले सो गाउँपालिका वडा नं १ मा चेपाङ समुदायको जीवन स्तर परिर्वतन गर्ने उद्देश्यले परियोजना सञ्चालन गरिरहेको छ । अन्तरघर, अन्तर विद्यालय,अन्तर आमा समुह, अन्तर स्वास्थ्यकर्मी प्रतियोगिता गराएर सो संस्थाले परिर्वतनका लागि चेपाङ समुदायलाई नै अग्रसर गराउदै आएको छ ।
अन्तर घर प्रतियोगिता गराएर सो संस्थाले पारिवारिक वाताबरण सुधारसंगै आयआर्जनको लागि प्रेरित गरिएको अध्यक्ष गिरीले बताए ।