तनहुँ। तनहुँको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले मझौला शल्यक्रिया सुरु गरेको छ । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको अस्पतालले बुधबार पहिलोपटक मलद्धार च्यातिएको सफल शल्यक्रिया गर्दै मझौला शल्यक्रियाको सुरुवात गरेको हो ।
एनेस्थेसियोलोजिस्ट डा. रमेश घिमिरे र सर्जन डा. परिवर्तन बराल नेतृत्वको टोलीले ६७ वर्षीया महिलाको मलद्धार च्यातिएको सफल शल्यक्रिया गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताए । एक घण्टा समय लगाएर उक्त शल्यक्रिया गरिएको थियो ।
यस्तै, बुधबार नै हार्डजोर्नीको पनि शल्यक्रिया गरिएको श्रेष्ठले जानकारी दिए । अर्थोपेडिक सर्जन डा. विद्याभुषण ताम्राकार नेतृत्वको टोलीले ५० वर्षीया महिलाको हाडजोर्नीको सफल शल्यक्रिया भएको उनले बताए । लडेर हात भाँच्चिएकी उनको शल्यक्रिया गरिएको हो ।
अब अस्पतालले मझौला शल्यक्रियालाई निरन्तरता दिने श्रेष्ठले बताए । ‘शल्यक्रिया सेवा सुरु गर्ने तयारी पहिलेदेखि नै गरेका हौँ । कोरोनाका कारण ढिलाइ भयो । ठूला शल्यक्रिया पनि छिट्टै सुरु गर्दैछौँ’, डा.श्रेष्ठले भने, ‘ठूला शल्यक्रिया सुरु गर्नलाई पूर्वाधार तयार हुँदैछ ।’
मझौला शल्यक्रियाका सेवा सुरु भएपछि तनहुँ, स्याङ्जा, पाल्पा, नवलपुरका विभिन्न भेगका बिरामी पोखरा, चितवन र काठमाडौँका अस्पताल जानुपर्ने बाध्यता भने अन्त्य भएको छ ।
अस्पतालले १० बेडको आईसीयू र २५ बेडको एचडीयू कक्ष सञ्चालनको तयारीसमेत गरिरहेको छ । ७० बेड क्षमतामा सञ्चालित अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न ३० बेड क्षमताको छुट्टै आइसोलेशन कक्ष छ । जिल्लाका १० वटै स्थानीय तहले संयुक्त लगानीमा निर्माण गरेको आइसोलेसन भवनमा अक्सिजनसहितको सेवा प्रदान भइरहेको छ ।
एक सय बेडको अनुमति भएको संघीय सरकार मातहातको यो अस्पतालले भवन अभावमा पुरै क्षमतामा सञ्चालन गर्न सकेको छैन् । श्वासप्रश्वास उपचारको विशेष अस्पताल बनाउने भनिए पनि यहाँ श्वासप्रश्वाससम्बन्धी रोगको उपचार सेवा पनि सुरु भएको छैन ।
दैनिक एक सय ५० जना अस्पतालमा सेवा लिन आउने गरेका छन् । तीमध्ये एक सय जनाभन्दा बढी स्वास्थ्य बिमा गरेका बिरामी हुन्छन् ।
माधव कुमार नेपाल प्रधानमन्त्री भएको बेला सेती गंगा सामुदायिक अस्पताललाई जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बनाउने निर्णय भएको हो । समुदायबाट सञ्चालित हस्पिटल सरकार मातहात आए पनि अपेक्षित विकास हुन नसकेको स्थानीयहरु बताउँछन् ।