चितवन। बागमती प्रदेशका सांसद उत्तम जोशीले चितवनको ब्लड बैंकलाई थप व्यवस्थित बनाउपर्नेमा जोड दिएका छन् । मिलिजुली बहुउद्धेशीय सहकारी संस्था भरतपुर ७ को २४ औं वार्षिकोत्सबको अवसरमा आयोजित रक्तदान कार्यक्रममा बोल्दै सांसद जोशीले यस्तो बताएका हुन् । चितवन मेडिकल हबको रुपमा बिकास हुँदै गएको अवस्थामा ब्लड बैंक व्यवस्थित हुनुपर्ने उनको भनाइ थियो ।
उनले चितवनमा रगतको अभावमा ज्यान जाने अवस्था नरहेको भन्दै ब्लड बैंकको कामको प्रशंसा गरे । ‘चितवन रगत खपत हुने काठमाडौंपछिको पहिलो जिल्ला हो। अहिलेसम्म रगत अभावमा ज्यान जाने अवस्था आएको छैन । ब्लड बैंकको काम सर्हानिय छ । तर अब यसलाई थप व्यवस्थित गर्न पर्छ’, जोशीले भने।
उनले अघि भने, ‘चितवन मेडिकल हबको रुपमा बिकास हुँदै गएको छ । यसर्थ पनि ब्लड बैंकलाई व्यवस्थित गर्नुपर्छ । यसका लागि प्रदेश सांसदको हिसाबले आवश्यक सहयोग र समन्वय गर्न तयार छु ।’ सहकारी संस्थाहरुले रगत संकलनका लागि गर्ने यस्ता कार्य पनि सर्हानिय भएको उनको भनाइ थियो । उनले युवाहरुलाई रक्तदानका लागि प्रेरित गर्नुपर्नेमा पनि जोड दिए ।
कार्यक्रममा ७१ जनाले रक्तदान गरेका थिए । सहकारीका अध्यक्ष निरमणी पाठकको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रस सोसाइटी चितवनका महामन्त्री हरि पौडेल, भरतपुर ७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्ले, कृष्णपुर रेडक्रस सोसाइटी भरतपुर ७ का अध्यक्ष कृष्ण ढकाललगायत उपस्थित थिए। सहकारीका सदस्य दीपेन्द्र पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रम राजेन्द्रबाबू ढकालले सञ्चालन गरेका थिए ।