चितवन । चितवन क्षेत्र नं १ मा चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । यस निर्वाचन क्षेत्रमा दुई अर्थशास्त्रका विज्ञता र एक स्वतन्त्र पार्टीबाट युवा चुवानी मैदानमा छन् । एमालेबाट पार्टीका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, गठबन्धन तर्फबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेल र राष्ट्रिय स्वतन्त्रपार्टीबाट युवा नेता हरि ढकाल चुनावी मैदानमा छन् ।
रवि लामिछाने नेतृत्वको पार्टीबाट उम्मेदवार बनेका ढकालको माहोल पनि उत्तिकै छ । एमालेका उपाध्यक्ष पाण्डे र गठबन्धनका उमेदवार डा.पौडेललाई स्वतन्त्रका उम्मेदवार ढकालले काउण्टर दिएका छन् । एमाले र कांग्रेसका कतिपय मतदाता खुलेरै स्वतन्त्र पार्टीको प्रचारमा छन् । चुनाबी गठबन्धनको विरोधमा रहेका गठबन्धन दलका असन्तुष्ट नेता तथा कार्यकर्ताको भोट स्वतन्त्रका हरि ढकाललाई जाने आकलन गरिएको छ । गठबन्धनको मत तितिरवितिर हुँदा एमालेका उपाध्यक्ष पाण्डेलाई चुनाब सहज हुने देखिन्छ । तर एमालेलाई आफ्नो मत स्वतन्त्रमा जानबाट जोगाउन उत्तिकै चुनौती छ । चितवन क्षेत्र नं १ अन्तर्गत रत्ननगर, खैरहनी र राप्ती नगरपालिका पर्छन ।
स्थानीय तहको निर्वाचनलाई आधार मान्दा राप्ती नगरपालिकामा एमाले करिब तीन हजार मतले अगाडि छ । खैरहनी नगरपालिकामा एमाले करिक एक हजार ५०० मतले अगाडि हुँदा एमाले उम्मेदवार सुरेन्द्र पाण्डेलाई रत्ननगर चुनौतीको चाङ हो । रत्ननगरमा एमाले करिब पाँच हजार मतले पछाडि छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा सुरेन्द्र पाण्डेले कांग्रेसका नेता राजेन्द्र बुर्लाकोटीलाई १४ हजार ४०० मतान्तरले पराजित गरेका थिए । त्यति बेला एमाले र माओवादीको गठबन्धन थियो । अहिले एमालेबाट फुटेको समाजवादी, माओवादी र काँग्रेसको गठबन्धन छ ।
पाण्डे राष्ट्रिय स्तरका नेता भएका कारण उनलाई स्थानीय तहमा वडाध्यक्षहरुले प्राप्त गरेको मतसंग तुलना गर्न नमिल्ने बताइन्छ । मंसिर चार गते हुने निर्वाचनमा एमालेका उपाध्यक्ष पाण्डेले राप्ती नगरपालिकामा करिब ४ हजार र खैरहनी नगरपालिकामा २ हजार ५०० मतले लिड गर्ने अनुमान राजनीतिकबृत्तमा गर्न थालिएको छ । रत्ननगरमा स्थानीय तहको निर्वाचनमा लागेको घाँट उपर गर्ने दाउमा एमाले कस्सिएको छ । सो नगरपालिकामा करिब ५०० मतले कांग्रेसका उम्मेदवार डा.पौडेललाई एमालेका उम्मेदवार पाण्डेले पछि पार्ने अनुमान गरिएको छ । यसरी हेर्दा त्रिपक्षिय प्रतिस्पर्धामा एमालेका उपाध्यक्ष पाण्डे अन्य दुई उम्मेदवार भन्दा अघि देखिएका छन् ।