चितवन। चितवन निर्वाचन क्षेत्र नम्बर २ तर्फ गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार उमेश श्रेष्ठले निर्वाचन पछि भरतपुर-पदमपुर सडकखण्ड पिच गरिदिने प्रतिबद्धता गरेका छन् ।
घरदैलो अभियानका क्रममा मतदातालाई सम्वोधन गर्दै उनले यस्तो वाचा गरेका हुन् ।
भरतपुर-पदमपुर सडकखण्डको अवस्था बिजोग छ । पिच भत्किएर बाटोमा खाल्डाखुल्डी छन् भने धुलो पनि उत्तिकै उडिरहन्छ ।
सडकको अवस्था बिजोग हुँदा पदमपुर बासीले सास्ती खेप्नुपरेको छ । जंगलको बाटो भएकाले पनि उक्त सडक मर्मत न गरी न हुने अवस्थामा छ ।
यहाँका जनताले निकै दु:ख पाएका रहेछन् भन्दै उमेद्वार श्रेष्ठले निर्वाचन लगत्तै बाटो पिच गरिदिने घोषणा गरेका हुन् ।
बाटोसँगै कालिका नगरपालिकाका आम समस्या समाधान गर्न आगामी निर्वाचनमा रुख चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन उनले अपिल गरेका छन् ।
उमेश श्रेष्ठको उक्त बाचापछि पदमपुरका स्थानीयहरु श्रेष्ठलाई जिताउनु पर्छ भन्दै स्वस्फूर्त रूपमै भए पनि घरदैलो गर्दै हिंडेको पाइएको छ ।